प्रस, वीरगंज, ५ वैशाख/

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले वीरगंजका उद्योगी–व्यवसायीका समस्याप्रति आफू जागरूक रहेको बताएका छन् ।

सङ्घले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री रिजालले कपडा तथा डन्डी उद्योगहरूमा निकै समस्या देखिएको बताए । अहिलेको समयमा यी उद्योगहरूको आयात घटेको छ भन्दै उनले नेपालको आर्थिक मन्दीको प्रभाव पर्यटनमा पनि देखिएको बताए । उनले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि आफू सदैव तत्पर रहेको बताउँदै तत्काल निराकरण हुने समस्याहरूका सन्दर्भमा सङ्घको अगुवाइमा काठमाडौं आउन निम्तो दिंदै उनले मन्त्रालयका सचिवहरूसँग संवाद गराएर समस्याको समाधान खोज्ने बताए ।

उनले कृषि क्षेत्रका समस्याहरूप्रति पनि चिन्ता जाहेर गरे । पहिले जस्तो कृषि उत्पादन छैन, विभिन्न समस्याले ग्रस्त कृषि क्षेत्रको सुधारका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने उनले बताए । आफ्नो तहबाट हुने सहकार्यका लागि पछि नहट्ने उनले वचन दिए । 

सङ्घका अध्यक्ष अनिल अग्रवालले अहिले उद्योगपतिहरू धराशयी हुँदै गएका बताए । आर्थिक अवस्था सबल र सुरक्षित नभएकोले लगानी प्रभावित भएको उनले बताए । उनले सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न अति आवश्यक भएको जिकिर गरे । यसैगरी, सङ्घले विभिन्न चरणमा उठान गर्दै आएको सशस्त्र औद्योगिक सुरक्षाबलको पुनर्बहालीको चर्चा गर्दै उनले उद्योगहरूबाट निस्कने छाईलगायतका फोहरहरूको विसर्जनका लागि सरकारले स्थान उपलब्ध गराउनुपर्ने माग गरे । यसैगरी, श्रीसिया नदी प्रदूषणमुक्त अभियानका नाममा स्थानीय सरकारबाट दुःख भोग्नुपरेको बताए । चार/पाँच दशकदेखि सञ्चालित उद्योगहरूको फोहर व्यवस्थापनमा समस्या रहेको र त्यसको निराकरण गर्नेतर्फ ध्यान नदिएर उद्योगीहरूलाई थप पीडा दिने कार्य भएको आरोप लगाए । उनले पानी प्रशोधन केन्द्रको स्थापनाका लागि सरकारले पनि उद्योगीहरूलाई सहयोग गर्नुपर्ने बताए । उद्योगसँगै किसानहरूको पीरमर्कामा पनि उनले आवाज उठाए । मल, बीउबिजन, कीटनाशक औषधिहरू किसानहरूलाई सहज र सहुलियत दरमा उपलब्ध गराएको खण्डमा मात्र कृषि उत्पादन वृद्धि हुने उनले सुझाए । कार्यक्रममा प्रदेशसभा सदस्य एवं नेका पर्साका सभापति जनार्दन सिंह क्षत्री, सङ्घका पूर्वअध्यक्षहरू बाबुलाल चाचान, विजयकुमार सरावगी, ओमप्रकाश रूँगटा, उपप्रमुख इम्तियाज आलम, वरिष्ठ उपाध्यक्ष हरि गौतमलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here