नितेश कर्ण, वीरगंज, ५ वैशाख/
एन्टी ह्युमन ट्राफिकिङ रक्सौल र एसएसबीको टोलीले भारत, झारखण्ड प्रदेशका सातजना नाबालकलाई उद्धार गरेको छ ।
भारत, बङ्गालका एकजनाले ती नाबालकहरूलाई नेपाल लैजाँदै गरेको राष्ट्रिय बाल अधिकार संरक्षण आयोग, नयाँ दिल्ली र मिसन मुक्ति फाउन्डेशन, नयाँ दिल्लीले सूचित गरेको आधारमा उद्धार गरिएको हो ।
एन्टी ह्युमन ट्राफिकिङ रक्सौल र एसएसबीको टोलीले बङ्गालका मानव तस्करलाई नियन्त्रणमा लिएको र उनीहरूविरुद्ध हरैया थाना रक्सौलमा प्राथमिक उजूरी दर्ता गरेको थाना प्रभारी पङ्कज कुमारले बताए ।
एन्टी ह्युमन ट्राफिकिङ रक्सौलका इन्स्पेक्टर मनोज शर्मा, सहायक उपनिरीक्षक अनिल शर्मा, हवलदार अरबिन्द द्विवेदी, मिक्की कुमारी, डोली कुमारी, एकबाल अहमद, प्रयास जुवेनाइल एन्ड सेन्टर पूर्वी चम्पारणकी परामर्शदाता आरती कुमारी र सामाजिक कार्यकर्ता राज गुप्तालगायतले सहयोगी भूमिका निर्वाह गरेका थिए ।