ओमप्रकाश चौधरी, सेढवा, ५ वैशाख/

पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको दूधेश्वर महादेव मन्दिर रामभौरी भाथामा मङ्गलवार मेला लागेको छ । हरेक वर्ष वैशाख कृष्णपक्ष त्रयोदशीका  दिन दूधेश्वर महादेव मन्दिरमा एक दिने मेला लाग्ने गरेको छ ।

मेला भर्न पर्सा, बारा, रौटहटका साथै छिमेकी भारतको बिहारका विभिन्न स्थानबाट भक्तजनहरू आएका थिए ।

भक्तजनहरूले भगवान् शिवलाई जल, अक्षता, फूल, प्रसाद, धुप, अगरबत्तीलगायतका सामग्री चढाइ पूजा आराधना गरेका थिए । आजका दिन भक्तजनहरूले यसअघिका भाखल अनुसार मेलामा अष्टजाम, भगवान् शिव आराधना पनि लगाएका थिए । भाथा मेलामा आज विभिन्न स्थानमा अष्टजाम, शिव आराधना भएका थिए । यसैगरी, छालारोगीहरूले रोग निको भएसँगै भाकल अनुसार सावा भार भन्टा चढाउने प्रचलनअनुरूप भन्टा चढाएका थिए ।

निकुञ्जनजीकको मानवबस्तीभन्दा करीब १७ किलोमिटरभित्र जङ्गलको पहाडमा रहेको भाथा मन्दिरमा दर्शन गर्न ठूलो सङ्ख्यामा भक्तजनहरू आएका थिए । जङ्गल, पहाड तथा खोलाको रमणीय दृश्यको अवलोकन गर्नका लागि पनि नेपाली, भारतीय धार्मिक पर्यटकहरू भाथा मेलामा आउने गर्छन् । गत वर्ष यो मेलाको लागि निकुञ्ज प्रशासनले सोनवर्षाको नाका मात्र खोलेको थियो तर यस वर्ष भने दुईवटा नाका खोलेको सुनाखरी वन समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले बताए । लामो समयदेखि बन्द रहेको ठोरी गापा गडुवालाइन पोस्ट नाका यस वर्ष खोलिएको र सो नाका भएर चारभैया पोस्टमा पुग्ने व्यवस्था मिलाइएको अध्यक्ष पाख्रिनले बताए । चारभैयाबाट मन्दिरसम्म एउटै बाटो प्रयोग गरी जाने व्यवस्था हँुदा बाटोमा निकै भीड भएको सहभागी भक्तजनहरूले बताए ।

छिमेकी भारतबाट भने हिजो बिहानदेखि भक्तजनहरू भाथा मेलाका लागि आएका थिए । ठूलो सङ्ख्यामा भारतीय भक्तजनहरू ठोरी, बलुवा, जानकीटोला, भिस्वा र वीरगंज नाका भएर भित्रिएका र हिजो रातिको बास उनीहरू भाथा खोला, धर्मशाला तथा जीराभवानी, पटेर्वासुगौली र ठोरीका मठमन्दिर र विद्यालयहरूमा बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here