प्रस, परवानीपुर, ४ वैशाख/
बारा–२ उपनिर्वाचनमा सत्तारूढ गठबन्धन दलका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सिके राउतको नाम सुन्न पनि चाहँदैनन् । सञ्चारकर्मीहरूले प्रश्नमा सिके राउतको प्रसङ्ग आउँदा उनी रिसाउँछन् । सोमवार बाराको महागढीमाई नगरपालिका–६ बबुआइनमा सञ्चारकर्मीहरूले यो अनुभव गरे ।
जसपा अध्यक्ष यादव घरदैलो गर्दै थिए । मतदातालाई नमस्कार गर्दै अघि बढ्दै गरेका यादवलाई सञ्चारकर्मीहरूको समूहले प्रश्न तेस्र्याए– तपाईं चुनावमा हार्दै हुनुहुन्छ, सिके राउतको पार्टीले कडा टक्कर दिंदैछ भन्ने सुनिंदैछ ?
अनुहार रातो पारी यादवले भने– को हुन् सिके राउत, कोबाट परिचालित छन् ? यो खोजको विषय हुन सक्छ, अनुसन्धान गर्नुपर्छ ।
सञ्चारकर्मीहरूको राउतबाटै सप्तरीमा पराजित भएको प्रश्नमा उनले सबै ठाउँमा एकै परिस्थिति नहुने भन्दै अगाडि बढे ।
“तपाईं अङ्कगणितमा अगाडि हुनुहुन्छ, बिहानदेखि बेलुकासम्म किन यति मेहनत गर्दै हुनुहुन्छ ?” भन्ने प्रश्नमा उनले मतदाताहरूसमक्ष पुग्नैपर्ने, मुख देखाउनैपर्ने, मत माग्नैपर्ने उम्मेदवारको धर्म भएकोले आफू सबै मतदाताको घरदैलोमा पुगिरहेको बताए ।
बाहिरिया र भितरिया उम्मेदवारको चर्चामा उनले यो सबै जातिगत वितृष्णा फैलाउन रचिएको ष्ययन्त्र हो र यस्तो अफवाह फैलाउने आफैं बहिष्कार हुने बताए ।