त्रिभुवन विश्वविद्यालय देशको एउटा नाम चलेको र सबैको शैक्षिक आस्थाको थलो हो । तर विगतका दिनमा यसको अवस्था नितान्त स्वार्थमा जेलिएको देशको राजनीतिजस्तै हुन पुगेको छ । जनतासँग कुनै सरोकार नराखेर मात्र व्यक्ति र दलको स्वार्थमा रूमलिएको नेपाली राजनीतिको अनुसरण गर्दै त्रिभुवन विश्वविद्यालयले ठाकुराराम बहुमुखी क्याम्पस वीरगंजका विद्यार्थीहरूको स्नातक प्रथम वर्षको परीक्षाको केन्द्र यहाँभन्दा १५–२० किलोमिटर टाढा कलैया र सिमरामा निर्धारित गरेको छ । पहिलो कुरा त परीक्षा केन्द्रको निर्धारण एक हप्ता पहिले नै हुनुपर्ने हो, त्रिविवि परीक्षा नियन्त्रक कार्यालयले भने दुई दिन अघि मात्र केन्द्र तोक्ने निर्णय गर्यो । यसले गर्दा एकातिर विद्यार्थीहरू आक्रोशित भएर परीक्षा शाखामा तालाबन्दी गरी धर्ना बसेका छन् भने क्याम्पस प्रमुख विद्यार्थीहरूभन्दा दुई पाइला माथि राजीनामा दिएका छन् । उनको राजीनामाको कारण स्वास्थ्य भनिए पनि कुनै पनि क्याम्पस प्रमुखले आफ्नो विद्यार्थीलाई यति टाढा पठाएर परीक्षा दिलाउन नैतिकरूपले नै स्वीकार गर्ने कुरा आउँदैन । त्रिविविले गत वर्षदेखि यस्तो गर्दै आएको छ ।

अहिले वीरगंज क्षेत्रमा लू चलिरहेको छ । बिहान १० नबज्दै तापक्रम ४००  पुग्न थालेको छ । कुनै ठाउँको मौसम, वातावरणको ख्याल नै नगरी यस्तो अतार्किक निर्णय, त्यो पनि शिक्षाको सर्वोच्च क्षेत्रले लिनु, मानवीय त हुनै सक्दैन । यस्तो निर्णय सरासर पक्षपातपू्र्ण र विद्यार्थी हित प्रतिकूल हो । कुनै ठोस कारणविना यस्तो निर्णय लिनु अधिनायकत्व हो । यो देशको सबैभन्दा पुरानो, सबैभन्दा लोकप्रिय, सबैभन्दा बढी विद्यार्थी सङ्ख्या भएको विश्वविद्यालयका लागि कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न सकिन्न । त्रिविवि परीक्षा शाखा नियन्त्रकको कार्यालयका अनुसार वीरगंजमा परीक्ष्Fाको राम्रो व्यवस्थापन हुन नसकेकोले केन्द्र कलैया र सिमरा तोकिएको हो । यदि यही तर्क सही हो भने मुसाको डरले घरमा आगो लगाएसरह भयो । वीरगंजमा प्रहरी छ, प्रशासन छ, यहाँका अन्य सबै परीक्षाहरू व्यवस्थित सम्पन्न भइरहेका छन् भने स्नातक तहको परीक्षामा सहभागी हुनेहरू त उमेरको दृष्टिकोणले पनि परिपक्व जमात हो । उसले परीक्षाको मर्यादा किन निर्वाह नगर्ला ? जे होस्, व्यवस्थापन भएन भने परीक्षाको मर्यादा कायम गराउने नैतिक जिम्मेवारीबाट त्रिविवि कसरी पन्छिन सक्छ ?

अहिले यस भेगमा प्रचण्ड गर्मी छ । निश्चय नै १५–२० किलोमिटर आवतजावत गर्न मानिसलाई सकस हुन्छ । फेरि व्यवस्थापनको मात्र समस्या हो भने किन त्रिविवि ठाकुरराम क्याम्पससँग मिलेर अभिभावक तथा वीरगंजको नागरिक समाजसँग बसेर छलफल गर्न सक्दैन ? वार्ता र छलफलबाट विश्वस्तरका समस्याहरूको निदान सम्भव हुन सक्छ भने परीक्षालाई मर्यादित बनाउने विषय ठूलो समस्या त हुँदै होइन । हो समस्याको समाधान खोज्न नचाहने, सुविधाभोगी निर्णयहरू मात्र गर्ने हो भने यस समस्याको समाधान पाउन गार्हो हुन्छ । स्थानीय समस्याहरूलाई केन्द्रीय सुविधा अनुसार समाधान गर्न खोज्दा हिजोको दिनमा देशको सबै क्षेत्र तहसनहस भइसकेको छ । शिक्षालाई पनि त्यसै बाटोमा धकेल्न खोजेको हो भने भन्नु केही छैन, तर सानो समस्याका लागि असाध्य उपाय खोज्नुलाई बुद्धिमानी मान्न सकिन्न । झिंगा मार्न हात काफी हुन्छ, त्रिविविले बन्दूक पडकाउने प्रवृत्तिमाथि काबु पाउनु नै श्रेयस्कर हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here