नितेश कर्ण, वीरगंज, ३ वैशाख/

ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंजमा परीक्षा केन्द्रको विषयलाई लिएर परीक्षाको मुखमा विवाद भएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रक कार्यालयले वैशाख ४ गते भोलिदेखि हुने स्नातक तह प्रथम वर्षको परीक्षाको लागि ठाराब क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा केन्द्र बाराको सिमरा र कलैयामा पारेपछि सो विषयलाई लिएर विवाद भएको हो ।

परीक्षा नियन्त्रक कार्यालयले कम्तीमा सात दिनअगाडि परीक्षा केन्द्र टुङ्गो लगाउनुपर्नेमा दुई दिनअघि मात्र टुङ्गो लगाएको विषयलाई लिएर विद्यार्थीहरूले विवाद गरेका हुन् । ठाराब क्याम्पसका विद्यार्थीहरूले दुई वर्षदेखि यहाँको सेन्टर बारा जिल्लामा पार्दै आएकोमा आपत्ति जनाउँदै आएका थिए । उनीहरूले ठाराब क्याम्पसका विद्यार्थीहरू बाराको कलैयामा परीक्षा दिन जाँदा समस्या हुने भन्दै वीरगंज महानगर क्षेत्रमा परीक्षा गराउन माग गर्दै आएका थिए ।

भोलिदेखि शुरू हुने परीक्षाका लागि आज प्रवेशपत्र लिन गएका हजार बढी विद्यार्थीहरू अलपत्र परेका थिए । एकथरी विद्यार्थीले परीक्षा नियन्त्रक कार्यालयको विरोध गर्दै परीक्षा शाखामा तालाबन्दी गरेर धर्ना दिएका थिए । आइतवार बिहानदेखि विद्यार्थीहरूले धर्ना दिने र तालाबन्दी गर्ने कार्यलाई निरन्तरता दिए भने यो क्रममा प्रहरीले लाठीचार्ज गरेर परीक्षा शाखा खोलाउने प्रयास पनि गरेको थियो ।

क्याम्पसमा विवाद बढेपछि क्याम्पस प्रमुख डा उमेश चौरसिया मोबाइलको स्वीच अफ गरेर बसेका छन् । उनले ठाराबका विद्यार्थीहरूको मागलाई सम्बोधन गर्न परीक्षा नियन्त्रक कार्यालयलाई गरेको आग्रह सुनवाइ नभएको र क्याम्पसमा सोही विषयलाई लिएर विवाद भएपछि मोबाइल अफ गरेका हुन् ।

ठाराबका विद्यार्थीहरूमध्ये बिबिएस प्रथम वर्षका सिम्बल नम्बर ७००१५०००१ देखि ७००१५०७०० सम्मका विद्यार्थीहरूको परीक्षा केन्द्र सिमरा कलेजमा र ७००१५०७०१ देखि ७००१५१५०० सम्म दुर्गा मावि ७००१५१५०१ देखिमाथिका सबै रामराजा बहुमुखी क्याम्पस, कलैयामा राखिएको छ ।

यसैगरी, बिए, बिएससीको रामराजा क्याम्पसमा र बिएड प्रथम वर्षको ९००१५०००१ देखि ९००१५०८०० सम्मको दुर्गा मावि ९००१५०८०१ देखि माथिको रामराजा क्याम्पस र बिएड प्रथम वर्षका सबै विद्यार्थीहरुको परीक्षा रामराजा बहुमुखी क्याम्पसमा तोकिएको ठाराब क्याम्पस परीक्षा शाखा वीरगंजले जनाएको छ ।

यसअघि पनि यहाँका विद्यार्थीहरूले यो विषयलाई लिएर विवाद गरेका तर यसपटक पनि परीक्षा नियन्त्रक कार्यालयले गम्भीरतापूर्वक नलिएको कारण ठाराब क्याम्पसमा तनाव भएको हो ।

क्याम्पस प्रमुखको राजीनामा

ठाकुर राम बहुमुखी क्याम्पसका प्रमुख डा उमेश चौरसियाले पदबाट राजीनामा गरेका छन् ।

क्याम्पसमा निरन्तर विवाद हुने गरेका कारण उनले आइतवार पदबाट राजीनामा गरेका हुन् । यद्यपि क्याम्पस प्रमुख डा चौरसियाले राजीनामा गर्नुको कारण स्वास्थ्य समस्या जनाएका छन् ।

उनले स्वास्थ्य अवस्थाले गर्दा क्याम्पसमा समय दिन असमर्थ भएको कारण आजको मितिदेखि लागू हुने गरी राजीनामा गरेको र सोही अवधिलाई मान्य गर्न स्वीकृत गर्न त्रिविका उपकुलपति तथा अध्यक्षलाई राजीनामापत्र पठाएका छन् ।

डा चौरसियाले राजीनामा दिनुपर्ने कारण स्वास्थ्य देखाए पनि ठाराब क्याम्पसमा स्ववियुको निर्वाचनलगायतका विषयमा बारम्बार विवाद हुने गरेको र समस्याको समाधान खोज्ने प्रयास हुँदा पनि राजनीतिक तथा व्यक्तिगत स्वार्थका कारण समस्याहरू बल्झिंदै गएपछि उनले राजीनामा गरेको भरपर्दो स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here