प्रस, गरुडा, २९ चैत/

रौतहटको गरुडामा बुधवार दिउँसो गोली चलेको छ । गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गरुडा नगरपालिकामा नगरप्रमुख पदका प्रत्याशी दीपक यादवको नेतृत्वमा भइरहेको आन्दोलन उच्छृङ्खल भएपछि दोहोरो भिडन्त भएको हो ।

बुधवार दिउँसो करीब दुई बजेतिर नेता यादवले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भाषण गरेर नगरपालिका कार्यालयतर्फ बढ्दा प्रहरीले रोकेको थियो । प्रहरीले नेता यादवलाई रोक्न खोज्दा यादवका कार्यकर्ताहरूले प्रहरीमाथि ढुङ्गामुढा बर्साउन शुरू गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।

त्यस लगत्तै अश्रुग्याँस र त्यसपछि केही राउन्ड गोली चलाएको थियो । गरुडामा अश्रुग्याँस र गोली गरी करीब डेढ दर्जन फायर भएको स्थानीयको भनाइ छ ।

आन्दोलनकारीको ढुङ्गा प्रहारबाट एकजना प्रहरी निरीक्षकसहित सातजना सुरक्षाकर्मीलाई चोटपटक लागेको छ । प्रनि वीरेन्द्र पासवानको हातमा चोट लागी घाइते भएका छन् ।

यसैगरी, प्रहरीले चलाएको गोली लागेर गरुडा नगरपालिका–५ लक्ष्मीपुरका बिरजु यादवका छोरा वर्ष २२ का गज्जु भनिने गजेन्द्रराय यादव घाइते भएको आफन्तले जनाएका छन् । घाइते यादवको पाखुरामा गोली लागेको छ । यादवलाई गरुडास्थित हेल्थ ल्यान्ड हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारको लागि वीरगंजतर्फ ल्याइएको छ ।

घटनापछि गरुडामा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको र अबेर साँझसम्म स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

लोसपा नेता यादवले विभिन्न माग राखी दुई हप्ता पहिले आठ दिनसम्म आमरण अनशन बसेका थिए । नगरपालिकासितको सहमतिमा अनशन तोडे पनि थप कागजपत्र माग गर्दै आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला अचानक बुधवार दलबलसहित नगरपाालिका कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको थियो ।

आन्दोलनरत यादवको माग बमोजिम र नगरपालिकाको कार्यक्रम अनुसार गरुडा नगरपालिकाले भोलि बिहीवार सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको छ । कार्यक्रम आफूले भनेको जस्तै नहुने भन्दै यादवले बहिष्कार गर्ने जनाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here