अनन्तनाग (कश्मीर), २९ चैत/एएनआई
दक्षिणी कश्मीरको अनन्तनाग जिल्लाका फारूक अहमद गनाईले आफ्नो क्षेत्रमा प्लास्टिकको फोहोरको समस्या समाधान गर्न अनौठो पहल शुरू गरेका छन् ।
‘प्लास्टिक दिनुहोस् सुन लिनुहोस्’ भन्ने नाराका साथ गनाईले २० क्विन्टल (दुर्ई हजार किलो) प्लास्टिकको फोहोर सङ्कलन गर्ने जोसुकैलाई १० ग्राम सुनको सिक्का दिने घोषणा गरेका छन् ।
अनन्तनाग जिल्लाको हिलर शाहाबाद क्षेत्रको विकट गाउँँ पञ्चायत सदिबाराका प्रमुख गनाईले गाउँँका मानिसलाई प्लास्टिकजन्य फोहोर खोलानाला र सडकमा फाल्नुको सट्टा जम्मा गर्न उत्प्रेरित गर्दै पुरस्कारको रूपमा सुनको सिक्का दिने घोषणा गरेका हुन् ।
प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि जनचेतना र मानसिकता परिवर्तन गर्नु महŒवपूर्ण रहेको उनको भनाइ छ । सुनको सिक्का दिने योजना सार्वजनिक गर्नु अघि गनाईले जिल्लाका उपायुक्त डा बशारत कयुमसँग यस सम्बन्धमा विचारविमर्श गरेका थिए । उनले पनि त्यसको प्रशंसा गर्दै त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि ग्रामीण विकास विभागद्वारा आयोजित एक कार्यक्रमबीच गत जनवरी ७ देखि ‘प्लास्टिक दिनुहोस् सुन लिनुहोस्’ अभियान औपचारिकरूपमा शुरू भएको हो ।
अभियान शुरू भएदेखि नै गनाईले यस क्षेत्रलाई सामूहिक र व्यक्तिगतरूपमा सरसफाइमा युवा क्लब, स्थानीय निकायका सदस्य, ज्येष्ठ नागरिक, सिंचाइ विभागका कर्मचारीलगायत कम्तीमा ३० स्वयंसेवक संलग्न गराएका छन् । अभियान सडक सफाइमा मात्र नभई त्यस क्षेत्रका खोलानालाको सफाइमा पनि केन्द्रित छ । फोहर प्लास्टिक सङ्कलन गर्न सङ्कलन स्थलहरू स्थापना गरेर त्यसलाई पुनः प्रयोग गर्ने प्रयास भइरहेको छ ।
अधिवक्ता गनाईको प्रयासलाई वातावरणविद्हरूले व्यापक प्रशंसा गरेका छन् । उनीहरूले प्लास्टिकजन्य फोहोर सङ्कलन गर्न पुरस्कार प्रणाली सिर्जना गर्दा प्रदूषण कम गर्न प्रभावकारी हुने बताएका छन् । अभियानले लोकप्रियता पाएको छ, सबैले त्यसको प्रशंसा गरेका छन् भने अन्य पञ्चायतहरूले पनि त्यसको सिको गरेका छन् ।
सदिबारा क्षेत्रका स्थानीय पनि स्वैच्छिकरूपमा अभियानमा संलग्न भएका छन् । यहाँ अझ रोचक पक्ष के छ भने वातावरणमैत्री समाज निर्माणको पहलमा लागेका गनाईले फोहोर व्यवस्थापनका लागि नवीन विचार प्रस्तुत गर्दै आएका उनले, उपयोग भइसकेको ‘डाइपर’ कृषि क्षेत्रमा प्रयोग गरेर देखाएका छन् ।
सदिबारा क्षेत्रका सडक, गल्ली, खोला प्लास्टिकमुक्त भएकाले अभियानको सकारात्मक प्रभाव देखिन थालेको छ ।
गनाईको प्रयासले स्थानीय जनतामा प्लास्टिकका हानिकारक असरहरूबारे चेतना जगाएको छ । उनले यो अभियानलाई भारतका सम्पूर्ण भूभाग समेट्न कश्मीरदेखि कन्याकुमारीसम्म पु¥याउने योजना बनाएका छन् । सबै गाउँँका लागि उदाहरण बनेको उनको अभियानलाई केन्द्र सरकारले पनि अघि बढाउने योजना बनाएको छ । रासस