प्रस, वीरगंज, १७ चैत/
सूर्य नेपाल प्रालि सिमरा, बाराले जीतपुरसिमरा उपमहानगरपालिका-१५ स्थित डुमरवाना कलेजलाई ईल्याब सञ्चालनका लागि रु १५ लाखको कम्प्युटर, फर्निचर सहयोग गरेको छ ।
कलेजमा कार्यक्रम आयोजना गरी सूर्य नेपालका कारखाना व्यवस्थापक सुरेशकाजी श्रेष्ठले क्याम्पस प्रमुख राधेश्याम शिवाकोटीलाई ईल्याबका लागि १५ सेट कम्प्युटर र त्यसका लागि फर्निचरहरू हस्तान्तरण गरेका थिए । सो अवसरमा श्रेष्ठले स्थापनाकालदेखि सूर्य नेपालले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको र भविष्यमा पनि सामाजिक उत्थानका लागि सूर्य नेपालले सहयोग जारी राख्ने बताए ।
उनले कलेजका विद्यार्थीहरूको भविष्य उज्ज्वल पार्नका लागि र परिवर्तित शिक्षा प्रणालीमा प्रतिस्पर्धी बनाउनका लागि सूर्य नेपालले ईल्याबको व्यवस्थापन गरेको बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनिल मैनालीले सूर्य नेपालको सहयोगबाट विद्यार्थीहरूको शैक्षिक गतिविधिमा थप सुधार आउने बताए । उनले अहिले प्रविधिको युग भएको र जतिसुकै अध्ययनमा राम्रो भएपनि ई प्रविधिको ज्ञान नहुनेहरू निरक्षर बराबर हुने बताए । क्याम्पस प्रमुख शिवाकोटीले सूर्य नेपालले ईल्याब सञ्चालनका लागि व्यवस्थापकीय जिम्मेवारी लिएर सिमराका विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने कार्य गरेको बताए ।
कार्यक्रममा कलेज सञ्चालक समितिका सदस्यहरू रूपलाल चौधरी, पलट चौधरी र वडाध्यक्ष रामप्रसाद लम्साललगायतको सहभागिता थियो ।