ओमप्रकाश चौधरी, सेढवा, १६ चैत/

पर्साका स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आउन थालेको छ ।

एक महीनादेखि सखुवाप्रसौनी गाउँपालिकामा यो कार्यक्रम सञ्चालनमा छ भने जगरनाथपुर गापामा एक साताअघिदेखि शुरू गरिएको छ । अन्य पालिकाहरू पनि शुरू गर्ने तैयारीमा छन् ।

जीराभवानी गापा अध्यक्ष अनोज चौधरीले आफ्नो पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम छिट्टै शुरू हुने बताए । उनले पालिकाको कार्यालयमा कार्यक्रमसँग सम्बन्धित प्रक्रिया भइरहेको र केही दिनभित्रै कार्यक्रम सञ्चालन हुने बताए ।

पटेर्वासुगौली  गापा अध्यक्ष दिनेशकुमार चौधरीले कार्यक्रम सञ्चालनको तयारी भइसकेको र आवश्यक जनशक्ति छनोट भइसकेको बताए । पालिकाका वडा कार्यालयबाट आएका सिफारिशका आधारमा जनशक्ति छनोट गरिने र तत्कालै छनोट भएकालाई काममा लगाइने अध्यक्ष चौधरीले बताए ।

कार्यक्रम सञ्चालनका लागि सरकारले स्थानीय तहलाई पठाएको बेरोजगार नागरिकहरूको तथ्याङ्कका आधारमा सशर्त अनुदान अन्तर्गत रकम निकासा गरेको हुन्छ । त्यसैलाई मापदण्डको आधार मानी जनशक्ति परिचालन गर्ने प्रावधान छ । यस कार्यक्रम अन्तर्गत दैनिक पाँच सय रुपैयाँ ज्याला दिएर एक सय दिन कामकाज गराइन्छ ।

ठोरी गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले सरकारले सो शीर्षकमा अनुदान नपठाएकोले कार्यक्रम सञ्चालन नगरिएको बताए । उनले सरकारले अनुदान पठाएको खण्डमा भने कार्यक्रम सञ्चालन हुने जानकारी गराएका छन् ।

जगरनाथपुर गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दनराय यादवले कार्यक्रम अन्तर्गत जनशक्तिलाई नाला, कुलो, सरसफाइ तथा बाटोघाटो मर्मतका लागि परिचालन गरिने बताए । यी सबै कामका लागि चैत महीनादेखि उपयुक्त समय भएकोले सरकारले सोही समयसीमा तोकेको अधिकृत यादवले बताए । उनले अहिले ज्यामी नियुक्त गर्दा निरन्तररूपमा एक सय दिन काम गराउन सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here