राधेश्याम पटेल, वीरगंज, १२ चैत/
वीरगंज भन्सार मातहतको वीरगंज–१७ अलौंमा रहेको एकीकृत जाँच चौकी (इन्टिग्रेटेड चेक पोस्ट–आइसिपी)मा आइतवार दिनभरि हडताल भयो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको आइसिपी भन्सार कार्यालयको सञ्चालन तथा व्यवस्थापन नेपाल इन्टरमोडेल यातायात विकास समिति आइसिपी शाखाले गर्दै आएको थियो । तर सरकारले अब वीरगंज आइसिपीको ठेक्का निजी कम्पनीलाई दिएपछि त्यहाँ काम गर्ने करारका कर्मचारी तथा सुरक्षा गार्डहरूको हडतालका कारण दिनभरि काम प्रभावित भयो ।
एक साताभित्रै पाँच वर्षको लागि ठेक्का पाएको कैलाश टर्मिनल्स जेभीलाई इन्टरमोडेलले आइसिपी वीरगंज हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उक्त कम्पनीले गत सोमवार आगामी पाँच वर्षको लागि आइसिपी वीरगंज सञ्चालनको लागि एक अर्ब ८० करोड ९० लाखमा ठेक्का सकार गरेको थियो । नयाँ ठेकेदार कम्पनी आयो भने आफूहरूको रोजगार गुम्ने त्रासका कारण करारमा कार्यरत इन्टरमोडेलका ३२ जना कर्मचारी तथा गोर्खाली योद्धा सेक्युरिटी सर्भिसेज, काठमाडौं मातहत काम गर्ने ४० जना सुरक्षागार्ड हडतालमा उत्रेका हुन् ।
२०७४ सालमा आइसिपी सञ्चालन हँुदा मुआवजामा जग्गा दिएका स्थानीयहरूले तत्कालीन पर्साको प्रशासन एवं इन्टरमोडेलसँग स्थानीयलाई रोजगार दिनुपर्ने माग राख्दै कर्मचारी छनोट गरी करारमा नियुक्त गरिएको थियो । सुरक्षागार्डमा पनि काठमाडौंको कम्पनीबाट सुरक्षागार्ड भर्ना गरी नियुक्त गरिएको थियो । तर नयाँ व्यवस्थापक कैलाश टर्मिनल्स जेभी आएपछि आफूहरू आन्दोलनमा उत्रिनुपरेको करारका कर्मचारीहरूले बताएका छन् । उनीहरूले आफ्नो रोजगारको सुनिश्चितता खोजेको वीरगंज–१७ अलौंका अध्यक्ष सञ्जुबहादुर छतकुलीले बताए ।
यस विषयमा नेपाल इन्टरमोडेल यातायात विकास समिति आइसिपी शाखाका प्रमुख कमल ज्ञवालीसँग कुरा गर्दा कर्मचारी र सुरक्षागार्डको आन्दोलनका कारण आज भन्सार कार्यालयको काम प्रभावित भएको बताए । उनले करारका कर्मचारी र सुरक्षागार्डहरूसँग नयाँ ठेकेदार कम्पनीको विवाद भएकोले वार्तामार्फत समस्याको समाधान निकाल्ने प्रयास भइरहेको बताए । आइसिपीको सञ्चालनको ठेक्का लिएको कम्पनीका अध्यक्ष माधव बरालका अनुसार आफूहरूले अप्रिल २ बाट जिम्मा लिएपछि कर्मचारी र सुरक्षागार्डको समस्याको बारेमा बोल्न मिल्ने बताए । तर नयाँ ठेकेदारले कर्मचारी हटाउँछ भन्ने भ्रम फैलाएर अनाहकमा व्यवसायीलाई दुःख दिने काम भइरहेको बताए । “हामी पुराना कर्मचारी हटाएर नयाँ कर्मचारी किन राख्छौं ?” उनले भने, “जो योग्य हुन्छ, उसले राम्रो सेवासुविधासहित नोकरी गरिरहन्छ भन्ने स्पष्ट पार्न चाहन्छु ।”
दुईवटा भारतीय र एउटा नेपाली कम्पनी मिलेर कैलाश टर्मिनल्स जेभी बनेको हो । जसमा ५० प्रतिशत शेयर नेपाली कम्पनी विन्ध्यवासिनी लजिस्टिकको छ र बाँकी ५० प्रतिशत शेयरमा भारतीय टिआरएस लिफ्ट एन्ड सिफ्ट तथा अर्को एपिजे सिपिङ एजेन्सीको लगानी रहेको छ । महँगोमा आइसिपी सञ्चालनको ठेक्का लागेपछि पार्किङ तथा अन्य शुल्कमा पनि व्यवसायीमाथि थप आर्थिक भार बढ्ने अनुमान छ । बिहान १० देखि साँझ ७ बजेसम्म आन्दोलन चलेको थियो । नयाँ ठेकेदार कम्पनीका अध्यक्ष बरालले कर्मचारीलाई सोमवार लिखित सहमति गर्ने आश्वासन दिएपछि आन्दोलन फिर्ता भएको थियो ।