प्रस, निजगढ, ११ चैत/

निजगढ–४ बागदेवस्थित दुईवटा सहकारी मल डिपोबाट नेपाल सरकारबाट अनुदानप्राप्त रासायनिक मल लेखिएको डिएपी मल निजगढबाहिर पठाउँदै गरेको थाहा पाएपछि स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, निजगढलाई बुझाएका छन् ।

शनिवार बिहान भारतीय नम्बर प्लेटका पाँचवटा मोटरसाइकलमा २० बोरा मल लैजाँदै गर्दा निजगढ–६ सडकटोलका भीमसेन सापकोटाको नेतृत्वमा तीनवटा मोटरसाइकलमा रहेको १२ बोरा मल, मोटरसाइकल र मल तस्करलाई नियन्त्रणमा लिई इप्रका, निजगढको जिम्मा लगाए पनि साँझ प्रहरीले छोडेको छ । नेपालका किसानहरूले मलको अभाव हुँदा भारतबाट विभिन्न सीमानाकाबाट भिœयाइ मलको अभाव टार्दै आएका थिए । भारतबाट ल्याइने रासायनिक मलको चर्को मूल्य तिर्दै निजगढका किसानहरूले पनि खेतीपाती गर्दै आइरहेका थिए ।

सहकारी मल डिपोलाई उसको निर्धारित क्षेत्रमा बिक्री वितरण गर्न मल उपलब्ध गराइएको हुन्छ । सहकारी डिपो निर्धारित क्षेत्रभन्दा बाहिर मल बिक्री वितरण गर्न पाउँदैन । निजगढका किसानका लागि उपलब्ध गराइएका अनुदानका मल अन्यत्र लैजान थालेपछि स्थानीयले मल र तस्करलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

तस्करहरूलाई आइन्दा गैरकानूनी कारोबार नगर्ने शर्तमा छोडेको इप्रका, निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले बताए ।

कानूनविपरीत अवैध धन्दा गर्नेलाई पनि नियन्त्रणमा लिई कारबाही चलाउनुपर्नेमा छोडिदिंदा प्रहरीको नियतमाथि प्रश्न उठेको निजगढका किसानहरू बताउँछन् ।

प्रतिबोरा दुई हजार ६५० मा पाइने अनुदानको डिएपी मल  सहकारी डिपोले बिचौलिया व्यापारीहरूलाई प्रतिबोरा रु तीन हजारदेखि साढे तीन हजारसम्ममा बिक्री गर्ने गरेको स्रोतले जनाएको छ । सो मल कोल्हवी भएर दक्षिणतर्फ तस्करी हुने गरेको छ ।

किसानहरूबाट प्रतिबोरा बढीमा ५० रुपैयाँ मात्र नाफा हुने र व्यापारी वा बिचौलियालाई बिक्री गर्दा प्रतिबोरा रु एक हजारसम्म नाफा हुने भएपछि निजगढका सहकारी मल डिपोहरूले मलको अवैध कारोबार गर्दै आएका छन् ।

अनुदानको रासायनिक मलको गुणस्तर अवैधरूपमा नेपाल भित्रिने भारतीय मलभन्दा राम्रो हुने निजगढका किसानहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here