प्रस, सिम्रौनगढ, ११ चैत/

मिडिया फर बोर्डर हार्मोनी, रौतहटको आयोजनामा शनिवार रौतहटको ईशनाथ नगरपालिका–३ औरैयास्थित ईशनाथ मन्दिरमा नेपाल–भारत सम्बन्धबारे अन्तक्र्रिया सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धन पवित्र भएको र यसअघि एमाले–माओवादीसहितको गठबन्धन अपवित्र भएको बताए ।

उनले अहिलेको गठबन्धन सरकार पाँच वर्षसम्म टिकाउ हुने दाबी गरे । उनले किसानहरूको मलको समस्या समाधान हुने आश्वासन दिए । उनले मलको समस्या अल्पकालीन नभएर दीर्घकालीनरूपमा समाधान हुनुपर्नेमा जोड दिए ।

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमारले नेपाल र भारतबीचको सम्बन्धमा आँच नआउने बताए । उनले सीमा आवागमनमा समस्या नभएको बताउँदै दुवै देशका नागरिकले सीमा नियम कानूनको पालना गर्नुपर्ने बताए ।

मेडिया फर बोर्डर हार्मोनी, रौतहटका अध्यक्ष किशोरी यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल–भारतबीचको सम्बन्ध र सीमामा देखिने समस्याहरूका बारेमा छलफल भएको थियो । कार्यक्रममा सहभागीहरूले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीहरूलाई दुःख दिएको, सीमामा दुवै देशका नागरिकसँग सटही गर्दा बढी रकम लिने गरेको र आवागमनमा बेलाबखत समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री अनिल झा, रेवन्त झा, प्रा राजकुमार, सूर्य यादव, अमरेश तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here