प्रस, वीरगंज, १० चैत/
राष्ट्रिय जनगणना २०७८ को नतीजा शुक्रवार सार्वजनिक भएको छ । सार्वजनिक भएको नतीजा अनुसार पर्सा जिल्लाको कुल जनसङ्ख्या छ लाख ५४ हजार ४७१ पुगेको छ । २०६८ को जनगणनामा यो जिल्लाको जनसङ्ख्या छ लाख एक हजार १७ थियो । प्रत्येक दश वर्षमा जनगणना हुन्छ र यसपटक भएको जनगणनाबाट पर्सामा ५३ हजार ४६४ जनसङ्ख्या बढेको तथ्याङ्कले देखाएको छ ।
नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ हजार ६४ हजार ५७८ रहेको र त्यसमा पुरुष एक करोड ४२ लाख ५३ हजार ५५१ तथा महिला एक करोड ४९ लाख ११ हजार २७ छन् । २०६८ सालको जनगणनामा कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।
पर्साका १४ वटा पालिकामा सबैभन्दा बढी साक्षर वीरगंज महानगरपालिका छन् ।
महानगरमा जनगणना अनुसार ७६.०४ प्रतिशत मानिस साक्षर छन् । यसैगरी, सबैभन्दा कम साक्षर जीराभवानी गापामा ६१.३१ प्रतिशत रहेको जनगणनाले देखाएको छ । १४ वटा पालिमामा सबैभन्दा बढी जनघनत्व वीरगंज महानगरपालिकामा प्रतिवर्गमिटर दुई हजार ६२ छ भने सबैभन्दा कम जनघनत्व ठोरी गापामा १३४ छ ।
ठोरी, जीराभवानी तथा सखुवाप्रसौनी गापामा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । पर्साका पालिकाहरूमा सबैभन्दा बढी वीरगंज महानगरमा ४७ हजार ११४ परिवार सङ्ख्या छ भने तथा सबैभन्दा कम पकाहामैनपुर गापामा तीन हजार ५३० परिवार सङ्ख्या छ । २०७८ को जनगणना अनुसार वीरगंज महानगरको जनसङ्ख्या दुई लाख ७२ हजार ३८२ छ भने सबैभन्दा कम ठोरी गापामा १७ हजार २१९ छ । पर्सामा वार्षिक जनसङ्ख्या वृद्धिदर १.१८ छ भने जगरनाथपुर गापामा शून्य प्रतिशत छ ।
पर्साको पालिकास्तरमा जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८ अनुसार बहुदरामाई नपाको जनसङ्ख्या ४३ हजार ४७८ छ भने २०६८ सालमा ३८ हजार ६७३ थियो । विन्ध्यवासिनी गापाको जनसङ्ख्या २४ हजार ९९१ छ भने २०६८ सालमा २४ हजार ४६८ थियो । यसैगरी, वीरगंज महानगरपालिकाको दुई लाख ७२ हजार ३८२ जनसङ्ख्या छ भने २०६८ सालमा दुई लाख ४० हजार ९२२ थियो । छिपहरमाई गापामा २९ हजार दुई, धोबिनी गापामा २२ हजार ६०६, जगरनाथपुर गापामा ३२ हजार ६४९, जीराभजानी गापामा २२ हजार ६७७, कालिकामाई गापामा २३ हजार ४०, पकहामैनपुर गापामा २२ हजार ५८५, पर्सागढी नपामा ४१ हजार ५६९, पटेर्वासुगौली गापामा २५ हजार ४९८, पोखरिया नपामा ३७ हजार ६७५, सखुवाप्रसौनी गापामा ३५ हजार ३९९, ठोरी गापामा १७ हजार २१९ जनसङ्ख्या रहेको राष्ट्रिय जनगणनाले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।