प्रस, वीरगंज, १० चैत/

वीरगंज महानगरपालिका कार्यालयले माईस्थान बाल विद्यामन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा कक्षा ८ को आधारभूत तहको परीक्षा दिइरहेका चारवटा संस्थागत विद्यालयका ८२ जना विद्यार्थीको उत्तरपुस्तिका नियन्त्रणमा लिएको छ ।

महानगरको शैक्षिक महाशाखा प्रमुख अरविन्दलाल कर्णले कक्षा ८ को आधारभूत तहको परीक्षा महानगरले आफ्नै विद्यालयमा गराउन निर्देशन दिएको र सोही बमोजिम परीक्षा भइरहे पनि माईस्थान बाल विद्यामन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा भने संस्थागत चारवटा विद्यालयका परीक्षार्थीहरू सहभागी गराएर परीक्षा लिइरहेको पाइएकाले शुक्रवार तेस्रो दिन परीक्षा सकिन दश मिनेट बाँकी रहँदा उत्तरपुस्तिका नियन्त्रणमा लिएको बताए । वीरगंज महानगरपालिका–७ स्थित माईस्थान बाल विद्यामन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा ग्रीनल्यान्ड माविका ४७, असीम माविका १७, एपेक्स इन्टरनेशनल स्कूलका सात र सालोम माविका १२ जना विद्यार्थीले अनधिकृतरूपमा परीक्षा दिइरहेका थिए ।

महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख कर्णले सामुदायिक विद्यालयमा अनधिकृतरूपमा अन्नपूर्ण पब्लिक कलेज सञ्चालनमा रहेको र सो कलेज बन्द गर्न महानगरले एक महीन अघि पत्र काटेको तर अटेर गरेर अहिलेसम्म कलेज बन्द नगरिएको र सोही कलेजमा अनधिकृतरूपले चारवटा संस्थागत विद्यालयको परीक्षा लिइएकाले उत्तरपुस्तिका नियन्त्रण लिएको र आइतवारदेखि सम्बन्धित विद्यालयबाटै परीक्षा दिन विद्यार्थीहरूलाई भनिएको बताए ।

वीरगंज महानगरमा आधारभूत तह कक्षा ८ को परीक्षामा ३४ सामुदायिक विद्यालयका तीन हजार ४५० विद्यार्थी र ८३ वटा संस्थागत विद्यालयका दुई हजार ४१२ जना विद्यार्थीसहित कुल पाँच हजार ८६२ विद्यार्थी सहभागी रहेको महानगरको शैक्षिक महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here