प्रस, वीरगंज, १० चैत/

बाराको सिमरा रङ्गशालामा हिजोदेखि शुरू भएको १३औं जीतपुरसिमरा गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न खेल वीरगंज युनाइटेडले जितेको छ ।

वीरगंज युनाइटेड क्लब र वाग्मती युवा क्लब, सर्लाहीबीच भएको खेलमा वीरगंज युनाइटेडले सर्लाहीलाई शून्यका विरुद्ध तीन गोलअन्तरले विजयी भएको छ ।

वीरगंजको तर्फबाट विवेक चौधरीले दुई र कृपा चौधरीले एक गोल गरेका थिए ।

नव जनजागृति युवा क्लबको आयोजनामा फ्लड लाइटमा साँझ ६ बजेदेखि आयोजना हुने खेलका लागि बलियो पूर्वाधार तयार भएको क्लबका महासचिव शम्भुसिंह ठकुरीले बताए ।

उनले ११औं संस्करणदेखि सन्ध्याकालीन खेल आयोजना हुँदा दर्शक सङ्ख्या दोब्बरीले बढेको बताए । दिउँसो हुने खेलमा भन्दा साँझ हुने खेलमा दर्शकको सङ्ख्या बढेको बताए । साँझ दर्शकहरू फुर्सदमा हुँदा सङ्ख्या बढेको उनले बताए । उद्घाटन खेलमा करीब पाँच हजार दर्शक थिए भने फाइनल खेलमा दश हजार पुग्ने अनुमान गरिएको छ ।

अहिले रङ्गशालाको मैदान व्यवस्थापन गरिएको, बत्तीको व्यवस्था गरिएको र प्याराफिट पनि बढाएको कारण दर्शक सङ्ख्या बढेको उनले बताए । अहिले टिकट दर सय रुपैयाँ राखिएको र सेमिफाइनलदेखि दुई सय हुने उनले बताए । दिउँसो खेल हुँदा ८० लाख खर्च हुने गरेकामा सन्ध्याकालीन खेलमा खर्च एक करोड पुगेको महासचिव ठकुरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here