प्रस, सेढवा, ९ चैत/
पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुरस्थित शिवम् लेयर्स फार्म प्रालिका कारण सो आसपासका गाउँलेहरूले समस्या भोग्दै आएका छन् ।
शिवम् लेयर्स फार्म प्रालिमा पचास हजारभन्दा बढी कुखुरा पालन गरिएको र फार्मबाट उत्पन्न वायु प्रदूषण तथा झिंगाका कारण आसपासका मानिसहरूलाई दैनिकीमा समस्या हुनुका साथै विभिन्न रोगले ग्रसित भएका छन् । पटेर्वासुगौली गापा–१, २, ३ अन्तर्गत पर्ने मकवानीटोल, वनकटवा, चापी, भाथा, थरघटी, धर्मबस्ती, रामपुर, बैजनाथपुर र रङ्गपुरका मानिसहरू सो फार्मको प्रदूषणको प्रत्यक्ष शिकार हुँदै आएका छन् ।
पटेर्वासुगौली गापा–२ थरघटी निवासी मीना देवीले फार्मको प्रदूषण र सोबाट विकसित भएका झिंगाका कारण घरमा खाना खान पनि समस्या हुने गरेको बताइन् ।
प्रदूषणका कारण बसिनसक्नु हुने र खान बसेका बेलामा गासैपिच्छे झिंगा फालेर खानुपर्ने बाध्यकारी अवस्था रहेको बताइन् । उनले प्रदूषण र झिंगाका कारण झाडापखाला, ज्वरो र चर्मरोगले गाउँलेहरू पीडित रहेको बताइन् ।
यो क्षेत्रमा रहेका विद्यालय, स्वास्थ्य संस्थाहरूमा पनि सधैं दुर्गन्धसँगै झिंगाको प्रकोप सहनुपरेको स्थानीय अभिताभ बच्चन चौधरीले बताए । उनले फार्म सार्नुपर्यो अथवा गाउँलेलाई अन्यत्र व्यवस्थापन गर्नुको विकल्प नभएको बताए । चौधरीले फार्मको कारण नर्कको जीवन जिउन बाध्य पारिएको बताएका छन् ।
जाडोयाम सकिएर गर्मीयाम शुरू भएसँगै प्रदूषण र झिंगाको थप प्रकोप बढ्ने उनले बताए । अहिले यस क्षेत्रका मानिसहरू झिंगाबाट जोगिन दिउँसै झुलभित्र बस्न बाध्य छन् । कतिपय मानिस झिंगाको कारण झुलभित्र बसेर खाने गरेको पटेर्वासुगौली–२ वनकटवाका सहदेव चौधरीले गुनासो गरे । उनले वातावरण प्रदूषण र झिंगाका कारण पाँच किलोमिटरसम्म गाउँमा भोजभतेर रोकिएको बताए । उनले यो क्षेत्रमा हुने उत्सवहरूमा पनि सोही प्रदूषणका कारण अन्यत्रबाट मानिसहरूको सहभागिता नहुने गरेको बताए ।
गापा कार्यपालिका सदस्य सविना विकले दुर्गन्ध र झिंगाको प्रकोपका बारेमा थाहा पाएका इष्टमित्र, आफन्तहरू अहिले गाउँमा आउन छाडेको र अहिले वैवाहिक कार्यक्रम पनि रोकिएको बताइन् । अन्यत्रका मानिसले छोरी दिन बन्द गरेकाले यो क्षेत्रका केटाहरूको विवाह प्रभावित हुँदै आएको उनले बताइन् ।
गर्मीयाम शुरू भएसँगै झाडापखाला, टाउको दुख्ने, ज्वरो लागेका बिरामीहरूको सङ्ख्या बढिरहेको स्वास्थ्य चौकी रङ्गपुरले जनाएको छ ।
सो फार्मले फैलाएको प्रदूषणका कारण आसपासका खेतीपाती पनि प्रभावित भएको छ ।
किसानहरूले लगाएका बाली धान, गहुँ, तोरीमा बाला नलाग्ने र लागेको बालामा पनि दाना लाग्ने नगरेको किसानहरूले बताए । उनीहरूले बगैंचामा फलफूल पनि नलागेको बताएका छन् ।
फार्मले सर्वत्र समस्या पारेपछि गापाले फार्मको अनुगमन गरेको थियो । फार्मको विरोधमा स्थानीयहरूको ठूलो आक्रोशपछि गापाले अनुगमन गरेको र फार्म बन्द गर्न सिफारिश गरेको उपाध्यक्ष ममता महतोले बताइन् । उनले पालिकाबाट फार्म बन्दका लागि छिट्टै परिपत्र जारी गरिने जानकारी गराइन् ।