प्रस, बारा, ८ चैत/
आफूलाई उपप्रधानमन्त्रीको अफर आए पनि पदलाई अस्वीकार गरेको जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बताएका छन् ।
जनमत पार्टी बाराको आयोजनामा सदरमुकाम कलैयास्थित सिद्धेश्वर संस्कृत मावि परिसरमा बुधवार आयोजित आमसभामा डा राउतले जबसम्म गरीब, निमुखा, किसान, विद्यार्र्थीलगायतको पक्षमा उपलब्धिमूलक काम गर्न सकिंदैन, तबसम्म आफू मन्त्री पदका लागि सरकारमा सहभागी नहुने घोषणा गरे ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा क्षेत्र नं २ मा आफ्नो पार्टीले उम्मेदवारी दिने र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउन बारा क्षेत्र नं २ का मतदातालाई अपील गरे । जसपाका नेता, कार्यकर्ताहरू आफ्नो पार्टीमा प्रवेश गर्ने तयारी रहे पनि उनीहरूलाई आर्थिक प्रलोभन देखाएर रोकिएको उनले आरोप लगाए । “ठूला पार्टी भन्नेहरूले आशालाग्दा नेताहरूको राजनीतिक हत्या गर्ने गरेको सत्य छिपेको छैन । तर आफ्नो पार्टीले त्यस्तो अधर्म कहिल्यै नगर्ने बताउँदै क्षमता, लगन, इमानदारिताको उच्च मूल्याङ्कन गर्न कहिल्यै कन्जुस्याइँ गर्नेछैन,” उनले प्रतिबद्धता व्यक्त गरे ।
संविधानको छिद्रताको प्रयोग गर्दै ठूला दलहरूको संरक्षणमा चोरबाटोबाट बारा क्षेत्र नं २ को खाली क्षेत्रबाट चुनाव लडेर संसद्मा छिर्ने दाउमा जसपाका अध्यक्ष उपेन्द्र यादवले तयारी गरेकोे भन्दै सङ्घीय सांसदको निर्वाचनमा सप्तरी जिल्लाका जनताले उनलाई हराएर गतिलो सबक सिकाइसकेको र लाज पचाएर बारामा उम्मेदवार बन्न लागेका यादवलाई बाराका मतदाताले सबक सिकाउनुपर्ने उनले बताए ।
पैसा बाँडेर, भोज खुवाएर चुनाव जित्ने दाउमा यादव छन्, पैसा लिनु, भोज खानु तर मत भने जनमत पार्टीको पक्षमा दिनु कुनै पाप लाग्दैन, डा राउतले भने ।
मधेसका दर्जनौं जनतालाई शहीद बनाएर जसपाका अध्यक्ष यादवले आफ्नो स्वार्थ मात्र पूर्ति गर्दै आइरहेको उनले आरोप लगाए ।
आफूले बढ्दो कृषि मलको मूल्य घटाउन संसद्मा जोडदार आवाज उठाएपछि सरकारले बाध्य भई मूल्य घटाउनुपरेको उनले बताए । प्रत्येक वडामा ग्रामीण उद्योग कार्यक्रम सञ्चालन गरी महिला, पुरुषलाई उद्यमशीलता, रोजगारको अवसर सिर्जना गर्नेगरी आफ्नो पार्टीले योजना बनाइरहेको उनले बताए ।
ओमप्रकाश साहको अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य डा सुवन्त कुशवाहा, सुनीलकुमार यादव, रौशन खातुन, रामबाबू साह, लीला खतिवडा, मधेस प्रदेश कृषि राज्यमन्त्री सञ्जय यादव, ऋषिकेश ठाकुर, शिवनाथ पटेल, सुशीलकुमार यादव, उमरावती यादव, विजय गुप्ता, परमानन्द गुप्ता, विनोदकुमार यादव, राजु साह, कातिकदेव पाण्डेय, हरिप्रसाद कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण विजय गुप्ताले गरेका थिए ।