प्रस, परवानीपुर, ७ चैत/

बाराको पचरौता नगरपालिका–१ पिपरपाती गाउँका वडा सचिव विजय सिंह र उनका भाइ वडाध्यक्ष विनय सिंहबीच गत फागुन २९ गते बिहान साढे ९ बजे भएको झडपको घटना बारा प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरिरहेको छ । दाजुभाइको घटना भएकोले जाहेरी दर्ता गर्न नमानेको बताइएको छ ।

सिम्रौनगढ नपा ८ वडा कार्यालयमा कार्यरत सचिव विनय सिंहको परिवार जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय, बारामा एक हप्तादेखि दौडधूप गर्दा पनि जोहरी दर्ता नभएको आरोप लगाइएको छ ।

झडपमा परी विनय सिंह, निजकी पत्नी किरण सिंह, छोरा आलोक सिंह र अभिषेक सिंह गम्भीर घाइते भएका छन् । उनीहरूको वीरगंजस्थित एलएस न्यूरो अस्पतालमा उपचार भएको थियो । वडा सचिव सिंहको नाकमा गम्भीर चोट लागेको छ भने आलोक सिंहको टाउको काटिएको छ । वडा सचिवकी पत्नी र अर्का छोरा अभिषेक पनि गम्भीर घाइते भएका छन् । चिकित्सकको मेडिकल रिपोर्ट हेर्दा पनि जाहेरी दर्ताको प्रक्रिया बारा प्रहरीले शुरू नगरेको र उल्टै मुद्दा मिलापत्र गराउन दबाब दिएको वडा सचिवका परिवारजनले आरोप लगाएका छन् ।

वडा सचिवले निलम्बित वडाध्यक्ष विजय सिंह, निजका छोरा प्रिन्स सिंह, छिमेकी वीरेन्द्र सिंह, निजका छोरा छोटन सिंह, विनय सिंहका समर्थक सोनु सिंह, अर्जुन सिंह, अभिमन्यू सिंहलगायत व्यक्तिहरूलाई विपक्षी बनाइ ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराउन जोहेरी लेखाएर दर्ता गराउन खोज्दा बारा प्रहरीले न्यायोचित आचरण नदेखाएको उनीहरूको आरोप छ । वडा सचिवका भाइ विनय सिंहतर्फबाट पनि आठजना घाइते भएको भन्दै उनीहरूको तर्फबाट पनि जाहेरी दर्ता गराउने प्रयास भइरहेकोले घटना मिलापत्रमा सल्टाउन खोजेको बारा प्रहरीले जनाएको छ ।

पिपरपाती प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शेख रोहुल्लाहका अनुसार फागुन २७ गते जुस खाएर फालिएको डिब्बाबारे विवाद भएपछि दुवै दाजुभाइबीच भनाभन हुँदा झडपले उग्ररूप लिएको थियो । झडपमा विनय सिंहका परिवार तथा आफन्तजन वडा सचिव विजय सिंहको घरमा पुगेर हातमुक्का, लाठी एवं रडले प्रहार गर्दा सचिव परिवार घाइते भएका जनाइएको छ ।

लोसपा नेता विनय सिंह पचरौता नगरपालिका वडा नं १ का निलम्बित अध्यक्ष हुन् । उनले पिपरपाती बजारमा कृषि सेड निर्माणमा अनियमितता गरेको कसूरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि छ महीनादेखि निलम्बित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here