प्रस, वीरगंज, ७ चैत/

चिकित्साशास्त्र अध्ययन संस्थान वीरगंज नर्सिङ क्याम्पसमा बितेको चैत ५ गते नेविसङ्घले गरेको तालाबन्दी आज साँझ ५ बजे फिर्ता लिएको छ । वार्तामा सहमति भएपछि तालाबन्दी फिर्ता भएको जनाइएको छ ।

चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम सार्वजनिक भएर अनेरास्ववियुले प्रत्यक्ष र समानुपातिक दुवैमा जीत हासिल गरेपछि नेविसङ्घ क्याम्पस एकाइले क्याम्पस प्रमुखको कक्षमा सोही दिन राति ११ बजे तालाबन्दी गरेको थियो । मतदान र मतगणना सकिएर मतपरिणाम सार्वजनिक भएपछि नेविसङ्घले तालाबन्दी गरेर क्याम्पसप्रमुखमाथि विद्यार्थीहरूलाई डर, धाक र धम्की दिएर अखिलको पक्षमा मत मागेको आरोप लगाएको थियो । तालाबन्दीको विरोध गर्दै आएको अखिलले मङ्गलवार तालाबन्दी खुलाउन माग गर्दै क्याम्पस प्रशासन कक्षअगाडि धर्ना दियो । अखिलका नेत्रीहरूले नेविसङ्घको आरोप सुहाउँदो नभएको बताए ।

ठाराब क्याम्पसको तालाबन्दी यथावत्

तोकिएको समयमा स्ववियु निर्वाचनको माग गर्दै ठाराब क्याम्पसमा नेविसङ्घको एउटा समूहले लगाएको तालाबन्दी पनि यथावत् छ । स्ववियु निर्वाचन चैत ५ गते तोकिएकोमा विभिन्न विवादका कारण चैत ८ गते सारिएको थियो । तर सो समयमा पनि हुन नसक्ने भनेर प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको पहलमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले स्ववियु निर्वाचन जेठ १३ गते हुने निर्णय गरेपछि सोको विरोधमा नेविसङ्घको एउटा समूहले क्याम्पसमा तालाबन्दी गरेको थियो । अहिले तालाबन्दी खुलाउन बाहिर र भित्र दुवैतर्फ वार्ताहरू भइरहेका छन् तर सफलता प्राप्त नभएको बताइन्छ । ठाराब क्याम्पसमा यही चैत १२ गतेदेखि स्नातक तह चौथो वर्षको परीक्षा हुन गइरहेको छ । परीक्षासम्म वार्ताको माध्यमबाट तालाबन्दी खुलाउने प्रयास जारी रहेको ठाराब क्याम्पसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here