नरेश यादव, पर्सागढी, ६ चैत/
पर्सागढी नगरपालिका कार्यालयले सोमवार पाँच सय किसानलाई ६० प्रतिशत अनुदानमा अर्गानिक मल वितरण गरेको छ ।
पर्सागढी नपा कृषि शाखाका प्राविधिक शिवपूजन चौधरीले नगरपालिकाले अर्गानिक मलका लागि किसानहरूसँग सोधनी गरेको र पाँच सय किसानले सो मलका लागि इच्छा जाहेर गरेपछि नगरपालिकाले खरीद गरेर वितरण गरेको बताए । उनले नगरपालिकाले प्रतिकिलो रु ३० मा खरीद गरेर किसानलाई ६० प्रतिशत अनुदान दिई २५ किलो तौलको बोरा रु ३०० मा उपलब्ध गराएको बताए ।
गहुँ, धान, मकै, हरियो तरकारी, सुर्ती, उखु खेती गरेका किसानहरूले रासायनिक मल नपाएको अवस्थामा पर्सागढीमा अर्गानिक मलको प्रयोग गर्ने गरेका छन् । नगरपालिकाले किसानको माग अनुसार अर्गानिक मल खरीद गरेर अनुदानमा दिन्छ भने केही किसानहरूले गाउँघरबाट अथवा अन्य गाउँबाट पनि गोबर मगाएर रासायनिक मलको विकल्पमा प्रयोग गर्छन् ।
पशुको गोबर प्रतिट्याक्टर रु अढाई हजार पर्ने गरेको छ । रासायनिक मल यहाँका किसानहरूको पहिलो रोजाइमा पर्छ । सो मल उपलब्ध नभएपछि भारतबाट पनि किसानहरूले मल ल्याउँछन् र दुवैतिर अभाव र महँगो भएपछि उनीहरू अर्गानिक मल विकल्पको रूपमा प्रयोग गर्छन् ।
स्थानीय किसान जयकिशोर चौरसियाले बाली रोप्ने, हुर्काउने क्रममा रासायनिक मल सहज उपलब्ध नभएको अवस्थामा अर्गानिक मलको प्रयोग गर्ने गरेको बताए । उनले अर्गानिक मलको प्रयोगबाट रासायनिक मल सरहको उत्पादन नहुने हुँदा किसानहरूको पहिलो रोजाइ रासायनिक मल हुने गरेको बताए ।