मानव तथा प्राणी जीवनको लागि नभई नहुने प्राकृतिक स्रोत हो, जल अर्थात् पानी । नेपाललाई जलसम्पदामा संसारमैं दोस्रो धनी देशको रूपमा मानिन्छ । पानीको मुख्य स्रोत नदीनाला, ताल, कुण्ड, तलाउ, पानीका मुहान र वर्षा हुन् । हाम्रो मुलुकमा हिमालदेखि बग्ने ६०० भन्दा बढी नदीनाला छन् । हिमाली क्षेत्र र त्यसदेखि दक्षिणका पहाडी क्षेत्रमा उद्गमस्थल भएका ठूला–साना झन्डै छ हजार नदीनाला रहेको जलस्रोत विज्ञहरूको ठम्याइ छ । तर पनि यहाँ पानीको सङ्कट दिनानुदिन चुलिंदै गएको छ । विगतमा प्रयोग हुँदै आएका मूलहरू हाल सुक्ने क्रममा छन् । पानीको मुहान सुकेपछि अर्को विकल्प नहुँदा बस्ती नै बसाइँ हिंडेका र गाउँ रित्तिएका कथाहरू धेरै छन् । यो समस्या बर्सेनि बढ्दो छ । पहाड र हिमाली क्षेत्रका परम्परागत कुल मुहानमध्ये तीन चौथाइ सुकिसकेका छन् । बस्ती विस्थापित नभएका स्थानहरूमा परम्परागत मूल सुक्दा पिउने पानीका लागि बोरिङ, डीप ड्रिलिङजस्ता महँगो विकल्प रोज्नुपर्ने बाध्यता आयो ।

चुरे क्षेत्रमा पनि मुहान सुक्ने समस्या धेरै देखिन्छ । चुरे क्षेत्रमा मूल सुक्ने समस्या ७९ प्रतिशत छ । मुलुकका कतिपय स्थानमा एकाबिहानै पैदल दूरीबाट पानी बोक्नुपर्ने बाध्यता छ । यसैगरी, शहरी क्षेत्रका डीप बोरिङ, तराई–मधेस क्षेत्रका चापाकल, इनारलगायत पिउने पानीका स्रोत सुक्ने क्रम चुलिंदो छ । पानीको स्रोत अभावमा मुलुकको ठूलो क्षेत्र मानवबस्तीविहीन हुने एकातर्फ छँदैछ भने अर्कोतर्फ पानीको वैकल्पिक स्रोत व्यवस्थापन गर्न बर्सेनि राज्यको ढुकुटी रित्तिरहेको छ । यसरी ढुकुटी रित्याइँदा पनि मेलम्चीलगायत राष्ट्रिय गौरवका खानेपानी आयोजनाहरूको अवस्था निराशाजनक देखियो । त्यसैगरी, पानी लिन टाढाको मुहानमा जानुपर्दा वा एउटै मुहानमा घण्टौं पालो कुर्नुपर्दा बालबालिकाहरू पढाइबाट वञ्चित हुने, पानीमा अधिकतम समय र श्रम खर्चिनुपर्ने अवस्था छ । पर्याप्त पानीको स्रोत नहुँदा आगलागी तथा डढेलोबाट अधिकतम क्षति बेहोर्न बाध्य हुनुपरिरहेको छ । अतः पानीका स्रोत सुक्दै, मासिंदै जाँदा समग्र पारिस्थितिकीय प्रणाली तथा जैविक विविधता नै प्रभावित हुन्छ ।

पानीको स्रोत सङ्कटमा पर्दै जानुका विविध कारणहरू छन् । सडक र भवनलगायतका भौतिक संरचनाहरू जथाभावी निर्माण, डोजर–एक्साभेटरलगायतका मेशिन उपकरणको प्रयोग, विस्फोटक पदार्थको प्रयोग, वनविनाश, भूकम्प, जलवायु परिवर्तन र बाढीपहिरो मुख्यरूपमा रहेका छन् । यसरी निम्तिएको जलसङ्कटबाट जोगिनका लागि वन जोगाउनुका साथै जथाभावी भौतिक संरचना निर्माण एवं विकास निर्माणको नाममा हुने मेशिन उपकरण तथा विस्फोटक पदार्थको प्रयोग न्यूनीकरणमा सम्बद्ध र सम्बन्धित सबै पक्ष संवेदनशील हुनुपर्छ । आइपरेका समस्या समाधानका लागि भूमिगत पानी रिचार्ज र पुनर्भरणलाई जोड दिइनुपर्छ । विश्व पानी दिवसको उपलक्ष्यमा हाम्रो मुलुकलगायत विभिन्न मुलुकमा भइरहेका विचार गोष्ठीहरूमा पनि विज्ञहरूले वर्षात्को पानी सञ्चय गरी पुनर्भरणलाई कम लागतमा सहज तरीकाले सम्भव हुने उपायको रूपमा सुझाइरहेका छन् । प्रकृतिले सित्तैमा दिएको वर्षाको पानी सङ्कलन गर्ने हो भने हामीले समय, शक्ति र जनशक्तिको पनि बचत गर्न सक्छौं र त्यसलाई थप उत्पादनमूलक काममा लगाउन सक्छौं । यसले भूमिगत पानी पुनर्भरण, शहरबजारको सौन्दर्यीकरण, स्वच्छ वातावरणको निर्माण गर्न पनि सघाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here