प्रस, रौतहट, ३ चैत/

गौर कारागारका जेलर शम्भु यादवको संरक्षणमा चौकीदार पवन यादवले कैदीबन्दीलाई चरम यातना दिइरहेका समाचार बाहिरिएको छ ।

गौर कारागारमा कैदी जीवन बिताउँदै आएका चौकीदार पवन यादव होलीमा कारागार प्रशासनलाई जानकारी नगराएर कारागारबाहिर आफ्नो गृह जिल्ला बाराको भटिनिया गाउँमा गएको र फर्किने क्रममा दुर्घटनामा परी घाइते भएपछि गौर कारागारको बेथितिका समाचारहरू बाहिर आएका हुन् ।

गौर कारागारमा रहेका कैदीबन्दीले आफूहरूले चरम यातना भोग्दै आएको बताएका छन् । कारागारको झ्यालबाट सञ्चारकर्मीको हुल देखेर उनीहरूले आँसु झार्दै आफ्नो पीडा सुनाएका थिए ।

उनीहरूले चौकीदार यादव र जेलर शम्भु यादवका कारण आफूहरू असुरक्षित रहेको र कसैले सोबारे चासो नराखेको बताए । कैदीबन्दीहरूले यसबारेमा कारागारमा आउने ठूलाबडालाई गुनासो गर्ने कैदीबन्दीहरूलाई रातिपख पशुभन्दा बढी कठोर यातना दिने गरेको बताए ।

चौकीदार यादवले महिला कैदीबन्दीहरूसँग दुव्र्यवहार गर्ने गरेको सो अवसरमा बताइयो । महिला कैदीबन्दीसँग गलत स्वार्थ राख्ने र सो पूरा नगर्ने महिला कैदीबन्दीहरूलाई विभिन्न यातना दिने गरेको कैदीबन्दीहरूले आरोप लगाए । महिला कैदीबन्दी शोभा यादवले चौकीदार जेलरबाट गरिने दुव्र्यवहारबारे सञ्चारकर्मीहरूसँग खुलेर गुनासो गरिन् । उनले आज सत्य बोले भने भरे बेलुकी यातनाको भागीदार हुनुपर्ने पनि बताइन् । उनले चौकीदार र जेलरको यातनाका कारण कारागारका महिलाहरू बोल्न नसक्ने अवस्थामा रहेको आरोप लगाइन् । उनले पैसा र चौकीदार पदको बलमा यादवले चरम शोषण गरेको र यसअघि पनि कैंयनपटक कारागारबाहिर गृह जिल्ला बारा जाने गरेको बताइन् । 

लागूऔषध खैरो हेरोइन मुद्दामा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकिएका यादवलाई चौकीदार बनाइ जेलरले अन्य कैदीहरूबाट रकम उठाएर लिने गरेको आरोप पनि छ । फागुन २४ गते होली मनाउन चौकीदार यादवलाई जेलका सुरक्षाकर्मी प्रहरी नायब निरीक्षक तेजीलाल यादवको मोटरसाइकलमा राखेर पठाइएको र परोहा नपा–४ लौकाहामा मोटरसाइकल दुर्घटना भएर वीरगंजस्थित एसएलआर न्युरो अस्पतालको आइसियूमा चौकीदार यादवलाई भर्ना गरिएको कैदीबन्दीहरूले बताए । यो घटनालाई लुकाउन खोज्दा जेलर र चौकीदारबीचको सम्बन्ध बाहिरिएको हो । जेलरका कर्तुत बाहिरिएसँगै सांसद किरणकुमार साहले बिहीवार वास्तविकता बुझ्नका लागि सञ्चारकर्मीहरूसहित कारागार पुगेका थिए र सो क्रममा कैदीबन्दीहरूले जेलर, चौकीदार, सुरक्षाकर्मीहरूबीचको अवैध सम्बन्धका बारेमा खुलेर बताएका हुन् ।

देवाही गोनाही–५ टिकुलिया निवासी कैदी मोहन साह कानूले सांसद साहलाई कैदीबन्दीहरूसँग चौकीदार यादवले जेलरको इशारामा रकम उठाउने गरेको बताए । उनले घरपरिवारले पठाउने रकम पनि चौकीदार नाइके यादवका सहयोगीहरूले जबरजस्ती लिने गरेको र कारागार प्रशासनलाई यसबारेमा गुनासो गर्दा सुनवाइ नभएको बताए । उनले जेलर, चौकीदार नाइके र चौकीदारहरूको विरोध गर्नेहरूलाई प्लास्टिकको पाइपले डाम नहुनेगरी चरम यातना दिने गरेको बताए । कैदीबन्दी विष्णु यादवले आफ्नो मुद्दा मिलाइदिने प्रलोभन देखाएर एक लाख ३० हजार रुपैयाँ लिएको पनि खुलासा गरे । यसैगरी, अर्का कैदीबन्दी मनोज बैठाले पनि मुद्दा मिलाउने भनेर चार लाख लिएको र अहिलेसम्म मुद्दा नमिलाएको र रकम पनि फिर्ता नगरेको बताए । अन्य कैदीबन्दीहरूले डबल स्केल दरमा साताको रु ८५० खानाबापत लिने गरेको तर खाना कमसल खुवाउने गरेको गुनासो गरे । उनीहरूले सरकारले मौसम अनुसार न्यानो कपडा, पौस्टिक खानेकुरा दिने गरे पनि ती सबै सुविधाहरू जेलर र चौकीदार नाइकले मिलेर खाने गरेको र कैदीबन्दीहरू कष्टकर जीवन व्यतीत गर्न बाध्य भएका सांसद साहलाई बताए ।

कैदीबन्दीहरूको गुनासा सुनेपछि सांसद  साहले महिला र पुरुष कैदीबन्दीहरूलाई ढुक्क हुन आश्वासन दिए । उनले निजहरूविरुद्ध सम्बन्धित निकायमा उजूरी गर्ने, सुधारका लागि दबाब दिने र सुधार नभए विरोधमा आन्दोलन गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here