प्रस, निजगढ, ३ चैत/
बारा जिल्ला कोल्हवी नगरपालिका–५ का अध्यक्ष नन्दकिशोर चौधरीलाई बारा जिल्ला अदालतले शुक्रवार तेस्रोपटक पाँच दिनका लागि म्याद थप गरेको छ । यसअघि उनलाई अदालतले ३/३ दिन गरी दुईपटकको म्याद थप गरेको थियो ।
वडाध्यक्ष चौधरीलाई सोही वडाको रामवनस्थित राष्ट्रिय वन क्षेत्रको साढे पाँच हेक्टर वनक्षेत्रमा तारबार गरी लगाइएका टीक, मसलालगायत अन्य प्रजातिका करीब नौ हजार बोटबिरुवा, लाथ्रा काटेर त्यहाँको तारबार भाँची क्षति पुर्याउने कार्यमा संलग्नता रहेको भनी गत फागुन २७ गते शनिवार सशस्त्र वनरक्षकको टोलीले पक्राउ गरेको थियो ।
वनक्षेत्र, वृक्षारोपणको संरक्षणमा सहयोग गर्न, वनक्षेत्रको जमीन जथाभावी नापनक्शा नगर्न डिएफओ विनोद सिंहले आग्रह गरेसँगै वडाध्यक्ष चौधरीले सो कुराको प्रतिकार गर्दै दुव्र्यवहारपूर्ण भाषा प्रयोग गरेपछि निजकै आदेशमा वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको थियो ।
स्थानीयलाई उक्साइ उक्त वृक्षारोपण क्षेत्रमा हानिनोक्सानी पुर्याउने कार्यमा संलग्न भएको भन्दै उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।
तेस्रोपटक पाँच दिनका लागि अदालतबाट म्याद थपिएको प्रवक्ता एवं सहायक वन अधिकृत जवाहरलालप्रसाद कुर्मीले बताए । उनले अनुसन्धान अधिकृत तोकी वडाध्यक्षसँग अनुसन्धान भइरहेको पनि बताए ।
जिल्ला वन सुरक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा सोही समयमा बसेको बैठकले बोटबिरुवा फँडानी, तारपोल हानिनोक्सानी गरिएको वनक्षेत्रलाई संरक्षण गरी पुनः हरियाली बनाउने कार्य अघि बढाउन र घटनामा संलग्नलाई यथाशीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन डिभिजन वन कार्यालयलाई निर्देशन दिएको थियो ।
सो वनक्षेत्रको अन्य स्थानमा भए, गरेका वन अतिक्रमित क्षेत्रमा रहेका घरटहराहरूलाई हटाइ वृक्षारोपण कार्य सञ्चालनमा ल्याउन र आवश्यकता अनुसार जनपद र सशस्त्र प्रहरीको निगरानी राखी संयुक्त गस्ती गर्ने निर्णय गरेसँगै उक्त अतिक्रमित वनक्षेत्रमा जनपद र सशस्त्र प्रहरी तथा सशस्त्र वनरक्षकको टोलीले विशेष सुरक्षा गस्ती बढाएका छन् ।
वडाध्यक्ष पक्राउपछि सो क्षेत्रमा हानिनोक्सानी पुर्याउने वनक्षेत्र अतिक्रमणकारीहरू गाउँ छाडेर भागेका छन् ।
घटनापछि अधिकांश उमेर पुगेका, घरमुली पुरुषहरूले घर छाड्दै सुरक्षित स्थानमा आफन्तकहाँ गएको बताइन्छ ।