प्रस, वीरगंज, २७ फागुन/
कृष्ण फाउन्डेशन दोस्रो परवानीपुर गोल्डकप–२०७९ शनिवारदेखि शुरू भएको छ ।
वीरगंज–२१ परवानीपुरस्थित परवानीपुर युथ क्लबको आयोजनामा कृष्ण फाउन्डेशन दोस्रो परवानीपुर गोल्डकप प्रतियोगिता शुरू भएको हो ।
परवानीपुर खेलमैदानमा आजदेखि शुरू भएको प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिहंले गरेका थिए ।
प्रतियोगितामा मधेस प्रदेशका छ र वाग्मती प्रदेशका दुई गरी आठवटा टीमको सहभागिता छ । प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक परवानीपुर युथ क्लब विजयी भएको छ ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टीमबाट कुनै गोल नभएपछि टाइब्रेकरमा बेलखाडी युथ क्लब, महोत्तरीलाई ४–३ गोलअन्तरले पराजित गर्दै परवानीपुर विजयी भएको आयोजक क्लबका महासचिव दीपक यादवले बताए ।
यस खेलको ‘म्यान अफ दी म्याच’ आयोजक क्लबको जर्सी नं ५ का खेलाडी प्रिन्स ताम्राकार भए । उनलाई स्थानीय हबिब मियाँ र सञ्जय मण्डलले संयुक्तरूपमा नगद पाँच हजार र ट्रफी प्रदान गरेका थिए ।
प्रतियोगिता चैत ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा उपाधि विजेताले डेढ लाख, उपविजेताले ७५ हजार नगद, शिल्ड तथा मेडल पाउने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।
परवानीपुर युथ क्लबका अध्यक्ष अलिअख्तर आलमको अध्यक्ष्तामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य रामपाल यादव, परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री कुर्मी, वडाध्यक्षहरू इब्राहिम मियाँ, राधाकृष्ण रौनियार, मनोज यादव, कृष्ण फाउन्डेशनका प्रतिनिधि प्रकाश यादवलगायतको सहभागिता थियो ।