प्रस, पंचगावाँ, २७ फागुन/
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीको आयोजनामा शनिवार शान्ति सुरक्षासम्बन्धी अन्तक्र्रिया सम्पन्न भएको छ ।
ग्रामीण क्षेत्रको सुरक्षा अवस्था चुस्तदुरुस्त बनाउन अन्तक्र्रियाको आयोजना गरिएको इप्रका, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।
अन्तक्र्रियामा अबेर रातिसम्म होटलमा मदिरासेवन गरी सार्वजनिक स्थानहरूमा होहल्ला, गाली बेइज्जती, झगडा, सवारीसाधन चलाएर सडक दुर्घटना गर्ने, विनाहेल्मेट सवारीसाधन चलाउने, महिला हिंसा, घरेलु हिंसा, बालविवाह, विद्यालय पढ्ने बालबालिकाहरूमा नशालु पदार्थको लत रोकथाम सम्बन्धमा वक्ताहरूले प्रहरीले कानूनको परिपालना कडारूपमा गराउनुपर्ने बताए । जङ्गलसँग सीमा जोडिएका गाउँहरूमा काठ तस्करी रोक्न पनि वक्ताहरूले जोड दिएका थिए ।
कार्यक्रममा इप्रका, पटेर्वासुगौलीका प्रनि केशरीले प्रहरीले शान्ति सुरक्षाको सवालमा कसैसँग पूर्वाग्रह नराखी स्वच्छ र निष्पक्ष सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा स्थानीय शिक्षक महेन्द्र चौधरी, हरिराज यादव, समाजसेवी नागेन्द यादव, पर्सागढी नगरपालिकाका पूर्वप्रमुख लोकनारायण यादव, सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतो, वडाध्यक्ष वासुदेव महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।