- डा शिवशङ्कर यादव
संसार के हो ? केवल सुखानुभूति र दुःखानुभूतिको सम्मिश्रण हो । शरीर के हो ? यही सुख र दुःखलाई अनुभूत गर्ने माध्यम हो । शरीरको जुन तहबाट त्यो महसूस हुन्छ त्यस तहको नाम हो स्नायु, जसको एउटा पूरै प्रणाली हुन्छ, जसलाई स्नायुतन्त्र भनिन्छ । स्नायुतन्त्रमा पनि ब्रेन त्यसको सेन्टर हो । स्नायुतन्त्र त्यस सेन्टरमा सुख वा दुःख पुर्याउने मार्ग मात्र हो । जसरी अनेक नदी एक आपसमा मिल्दै गङ्गामा र गङ्गा सागरमा मिल्छ, त्यस्तै शरीरको अनगिन्ती ठाउँबाट स्नायु स्पाइनलकर्डमा मिल्छ र स्पाइनलकर्ड ब्रेनरूपी सागरमा मिल्छ । शरीरमा दुई प्रकारको संवेदना हुन्छः श्रव्य, दृश्य, घ्राण र रसनालाई स्पेशल सेन्स र तथा स्पर्शादि र बाँकीलाई सोमेटिक सेन्स भनिन्छ । स्पेशल सेन्सको वर्णन, पाठकलाई सम्झना होस्, गरिसकिएको छस जसको मार्ग अलि जटिल हुन्छ । आज सोमेटिक सेन्सको र त्यसमा पनि दुःखाईको वर्णन गर्ने पालो छ । मैले दुःखाई नै किन रोजें भने सबैको वर्णन गर्नु आवश्यक छैन । तर दुःखाईको वर्णन आवश्यक छ किनभने दुःखाई शरीरको रक्षात्मक प्रणाली पनि हो । यो दुःखाई नै हो जसबाट जोगिन हामी हरसम्भव प्रयास गर्छौं । दुःखाईको असली पहिचान गरेर नै एउटा चिकित्सकले रोगको क्लिनिकल निदान गर्दछ । यस दुःखाईले रोगीलाई पनि तर्साउँछ र चिकित्सकलाई पनि । सुश्रुतले वाइन र भाङले लठ्याएर नाक, कान, घाँटीसम्मको अपरेशन गर्दथे । तर पश्चिममा पहिले रोगीको हातखुट्टा बFँधेर चिरफार गरिन्थ्यो । आज पनि हाम्रो शरीरमा साधारण घाउ र भगन्दरको चिरफार यसरी नै गरिन्छ । जुन लोकल नोभोकेन दिइन्छ त्यो पनि घाउको पीपको साथै बाहिर निस्कन्छ र दुःखाई ज्यूँका त्यूँ रहिरहन्छ । भनिन्छ डार्विनले मेडिकल पढ्न चाहेको थिएनन् । उनका बुवाले मेडिकल त पढ्नै पर्छ भनेर मेडिकलमा दाखिला गराइदिए । क्लास गर्दा अर्को कोठामा चिरफार हुन्थ्यो । त्यहाँबाट रोगीको भयङ्कर आर्तनाद डार्विनको कानमा पथ्र्यो । सहन नसकेर एक दिन उनले कलेजबाट सुइँकुच्चा ठोके र फेरि फर्केर गएनन् । त्यसपछि उनी ओरिजिन अFफ स्पेसिजको प्रतिपादक बने र फासिलको चिरफार होइन जतनले त्यसलाई जोगाउने काममा लागे । यता मेडिकलमा ओपियम, मर्फिन, इथर, क्लोरोफार्म आदि एनेस्थिसियाको आविष्कार भएपछि मात्र मेडिकल शिक्षा आजको स्थितिमा पुगेको छ । बोस्टनका नामी डेन्टिस्ट विलियम टिजी मोर्टनलाई एनेस्थेसियाको पिता मानिन्छ । यही एनेस्थेसियाले दुःखाई कम वा बिल्कुल हुन नदिने काम गर्छ । यति महत्वपूर्ण भएको हुनाले आज दुःखाईबारे लेख्न खोजेको हुँ ।
सोमेटिक संवेदना तीन प्रकारको हुन्छ : १. मेकानोरिसेप्टिभ : यो दुई प्रकारको हुन्छ : टेक्टाइल अथवा स्पर्शजनित र पोजिशन । टेक्टाइलमा स्पर्श, दबाब र कम्पन आउँछ । पोजिशनमा हामी कसरी स्थिर रहन्छौंं वा कसरी चल्छौं त्यो आउँछ । २. थर्मोरिसेप्टिभ : यसमा हिट र कोल्ड आउँछ । ३. हो पेन वा दुःखाई : यसको अतिरिक्त एउटा अर्को तरीकाले पनि संवेदनाको वर्गीकरण गरिन्छ–१. एक्सट्रोरिसेप्टिभ : यो शरीरको बाहिरी सतहबाट महसूस हुन्छ । २. प्रोप्रायोसेप्टिभ : यो शरीरको भौतिक अवस्था अथवा पोजिशन, टेन्डन र मांसपेशीबाट प्राप्त हुन्छ ३. डीप सेन्सेसन : यो फासा, मांसपेशी र हाडबाट प्राप्त हुन्छ र ४. भिसेरल सेन्सेसन : यो मुटु, आन्द्रा आदिबाट प्राप्त हुन्छ ।
पेन अथवा दुःखाईलाई कुनै टिसुको कति मात्रा डैमेज भएको छ वा छैन त्यस अनुसार परिभाषित गरिन्छ । दुःखाई एक्युट र क्रोनिक दुई प्रकारको हुन्छ । एक्युट केही क्षणको लागि शरीरको कुनै सानो क्षेत्रमा हुन्छ र अक्सर मेडिकेशनले ठीक हुन्छ । यसविपरीत क्रोनिक बारम्बार र लगातार तथा बढी अवधिको लागि हुन्छ, जसको उपचार अलि गाहो हुन्छ तथा एक्सपर्ट चिकित्सकको आवश्यकता हुन्छ । दुःखाईको संवेदना रोगीले विभिन्न प्रकारले व्यक्त गर्छ–यथा तीव्र किसिमको –सुईले घोचेजस्तो, मधुरो दुःखाई, बिजलीको झटकाजस्तो, काटिएको वा छुरा रोपेजस्तो आदि आदि । अक्सर दुःखाईमा रोगीको चिच्याहट सुनिन्छ र रोगी बेहोशसमेत हुन सक्छ । यो त भयो रोगीले व्यक्त गर्ने दुःखाईको प्रकृति । तर शरीर क्रिया विज्ञानका अनुसार दुःखाई केवल दुई प्रकारको हुन्छ : फास्ट र स्लो । दुःखाईको स्टिमुलसको जब प्रयोग हुन्छ तब पहिले दुःखाई तीव्र र लोकलाइज्ड हुन्छ । यही हो फास्ट पेन । यही फास्ट पेन पछि मधुरो र विस्तारित क्षेत्रमा महसूस हुन्छ र यही हो स्लो पेन । यी दुवै दुःखाईको रिसेप्टर त एउटै हुन्छ तर प्रवाहित हुने नर्भ दुईटा हुन्छ । फास्ट पेनको प्रवाह एडेल्टा भन्ने र स्लोपेनको प्रवाह सी भन्ने नर्भफाइबरबाट हुन्छ ।
भिसेरल दुःखाई आन्द्रा आदिमा रगतको प्रवाह कम वा बन्द भएमा, पेप्टिक अल्सरबाट एसिडिक गैस्ट्रिक ज्युस लिक भएमा, आन्द्रामा एक्कासि बढी सङ्कुचन भएमा अथवा ग्याँस भरिएको बैलुनजस्तो फुल्न गएमा परिलक्षित हुन्छ । यी सबैले आन्द्राको नर्भ एन्डिङलाई उत्तेजित पार्छन्, अन्यथा सामान्य अवस्थामा अमाशय र आन्द्रामा दुःखाई हुँदैन । यसबाहेक दुःखाई एक ठाउँमा छ र दुख्ने अरू ठाउँमा पनि हुन सक्छ । मतलब दुःखाई जुन ठाउँमा छ, त्यहाँ त हुन्छ नै, अन्यत्र पनि हुन सक्छ । मुटुको दुःखाई छातीको अगाडि भागमा त हुन्छ नै, बयाँ हातमा पनि हुन्छ । कहिलेकाहीं त छातीमा कम तर हातमा दुःखाई बढी हुन्छ र रोगी मुटुरोग विशेषज्ञकहाँ नगएर हाडजोर्नी विशेषज्ञकहाँ पुग्छ । त्यस्तै पित्ताशय दाहिनेपट्टी कलेजोमा हुन्छ, तर दुःखाई पेटको माथिल्लो र बीच भागमा हुन्छ, जसलाई इपिगैस्ट्रियम भनिन्छ । एपेन्डिक्सको दुःखाई पनि पहिले नाइटोमुनि हुन्छ र पछि एपेन्डिक्स भएको ठाउँमा लोकलाइज हुन्छ । मिर्गौलाको दुःखाई अर्कोपट्टि पनि हुन सक्छ । यस्तो हुनुको कारण भ्रूणावस्थामा जुनजुनको अवयवको विकास एक साथ हुन्छ ती अर्को ठाउँमा सरे पनि नर्भद्वारा पछिसम्म जोडिएका हुन्छन् र दुःखाई त्यहाँ पनि पुग्छ । यसैलाई रिफर्ड पेन वा दुःखाई भनिन्छ । यस्तो दुःखाईले चिकित्सकलाई धेरै अल्झामो पार्छ । यसको लागि चिकित्सक बिल्कुल एक्सपर्ट हुनुपर्छ । मेडिकल शिक्षामा एउटा उखान धेरै प्रचलित छ ः हेडेक इज ए हेडेक फर ए फिजिसियन । यस उखानको कारण यही हो । पेटमा ग्याँस भरिए पनि हेडेक हुन्छ, ज्वरो आयो र कब्जियत भए पनि तथा डिप्रशसन र मुड अफ भए पनि हेडेक हुन्छ । अतः हेडेक कुनै पनि फिजिसियनको लागि हेडेक हुन्छ । निदानमा पुग्न धेरै गहिरो ज्ञान आवश्यक हुन्छ ।
वीरगंजबाट काठमाडौं गइन्छ । ठोरीबाट पनि काडमाडौं पुगिन्छ । सबै मार्ग हेटौंडामा दुई भागमा बाँडिन्छन् । एउटा भरतपुर भएर तथा अर्को भीमफेदी भएर । त्यस्तै अनेक विन्दुको संवेदना अनेक बाटो भएर स्पाइनल कर्डमा प्रवेश गर्छन् । त्यहाँबाट ब्रेनमा पुग्ने मार्ग दुईटा छ । एउटा मार्गलाई सोमेटोसेन्सरी सिस्टम वा पाथवे भनिन्छ जसको माध्यमबाट दुःखाईसमेत सवै सेन्सेसन पास हुन्छ । अर्को केवल भिसेराबाट प्राप्त संवेदना मात्र पास हुन्छ त्यसमा भएको दुःखाईसहित । यसलाई भिसेरल सेन्सरी सिस्टम वा पाथवे भनिन्छ । यी दुवै पाथवेमा अक्सर तीनवटा अर्डरका नर्भ हुन्छन् : फस्र्ट अर्डर, सेकेन्ड अर्डर र थर्ड अर्डर न्युरोन्स । रिसेप्टर त नर्भ एन्डिङ नै हुन्छ । त्यहाँबाट फस्र्ट अर्डर न्युरोन पोस्टेरियर नर्भरूट गैैंग्लियोनमा जान्छ, जहाँ फास्टपेनको लागि अल्फाडेल्टा नर्भफाइबर र स्लोपेनको लागि सीफाइबर हुन्छ । सेकेन्ड अर्डर न्युरोनमा अल्फाडेल्टा स्पाइनल कर्डको मार्जिनल कोल्युममा र सी फाइबर सब्सटान्सिया जिलेटिनोसामा जान्छ । त्यहाँबाट थर्ड अर्डर न्युरोन शुरू हुन्छ जसमा फास्टपेन थैलमसको अगाडिको भाग तिरको न्युक्लियसमा जान्छ तथा स्लो पेन मिडब्रेनको रेटिकुलर फर्मेशन भन्ने भागमा पुग्छ । अब थैलमस र रेटिकुलर फर्मेशन दुवैले प्रोसेस गरेर त्यसलाई सिरेब्रलकार्टेक्सको सेन्सरी एरियामा पठाइदिन्छन् जहाँ दुःखाई महसूस हुन्छ । यहाँ पाठकलाई पूर्व लेखको सम्झना गराउन जरूरी छ जसले कुनै प्रकारको भ्रम वा बुझाइमा कठिनाई नहोस् । घरको भित्तामा जाने तार फस्र्टअर्डर न्युरोन हो, त्यसको प्लगमा मल्टिप्लग वा अन्य प्लग लगाएर जुन कम्प्युटरमा जाने तार सेकेन्ड अर्डर न्युरोन हो भने कम्प्युटरबाट पनि अर्को तार जुन स्पीकरमा पुर्याइन्छ त्यो थर्ड अर्डर न्युरोन हो जहाँ आवाज सुनिन्छ । ठीक यस्तै दुःखाईका तीन अर्डर न्युरोन हुन्छ ।
दुःखाई कसैलाई कम र कसैलाई बढी महसूस हुन्छ । मतलब कोही दुःखाई कम र कोही बढी सहने खालका हुन्छन् । यस कुरालाई मान्छेको जीन र हार्मोनले नियमन गर्छ । आइमाईहरू एक्कासि हुने वा एक्युट पेनलाई बढी सहन सक्छन् । बच्चा हुने बेला उत्पन्न बेथा उनीहरू विभिन्न हार्मोनको सहायताले सहन सक्षम हुन्छन् । तर यसै हार्मोनले कुनै केटीमा केटाभन्दा बढी दुःखाई महसूस हुन्छ । केटीमा छालाको एक निश्चित क्षेत्रमा केटाभन्दा बढी नर्भ हुन्छ र केटीमा केटाभन्दा बढी भावुकता हुन्छ, जुन बढी दुःखाई महसूस गर्ने एउटा कारण हो । दुःखाई नाप्ने एउटा जिरोदेखि दशसम्मको स्केल बनाइएको छ जसमा जिरो मतलब शून्य दुःखाई, १ २ ३ ४ ५ ६ माइल्ड अथवा कम दुःखाइ, ७, ८, ९ मोडरेट अथवा बढी दुःखाई तथा १० ले वस्र्ट दुःखाई अर्थात् असहनीय दुःखाईलाई डिनोट गर्छ । यसका साथै दुःखाईलाई रोक्ने प्रक्रिया पनि शरीरमा पाइन्छ । यसलाई गेट थ्योरी भनिन्छ । जसरी कुनै गेट खुला छ भने हामी घरभित्र प्रवेश गर्छौं तथा गेट बन्द भएपछि प्रवेश गर्न सक्दैनौं, त्यस्तै गेट स्पाइनल कर्डमा पनि हुन्छ जुन खुला भए दुःखाई एकदम उसको पोस्टेरियर हर्नमा प्रवेश गर्छ र बन्द भए प्रवेश कम वा बिल्कुल गर्न सक्दैन । यदि दुःखाईका साथसाथै स्पर्श पनि पठाइयो भने स्पर्श त्यहाँ सुटुक्क पस्छ र गेट बन्द गरिदिन्छ जसले गर्दा दुःखाईले प्रवेश नै पाउँदैन । यही कारण हो कि जहाँ दुःखाई हुन्छ त्यहाँ मलम लगाएर मलियो वा मालिश गरियो भने दुःखाई कम हुन्छ । यसमा दुःखाई स्पाइनल कर्डमा पुगे पनि स्पर्श पुगेर दुःखाईलाई बिस्तारै विस्थापित गर्दै जान्छ र अन्तमा दुःखाई खत्तम हुन्छ । यही कुरा एक्युपंक्चरमा पनि लागू हुन्छ । त्यसमा एउटा सुईबाट पेन रिसेप्टरलाई र अर्को सुईबाट स्पर्श रिसेप्टरलाई उत्तेजित पारिन्छ । दुवै सँगसँगै स्पाइनल कर्डमा पुगे पनि स्पर्श सुटुक्क पास भएर गेट बन्द गरिदिन्छ । बिचरा दुःखाई बाहिर बसी पछताउ मात्र गर्छ । यो काम ब्रेनले पनि गर्छ । जब बढी पेन त्यहाँ पुग्छ उसले स्पाइनल कर्डलाई आफ्नो ढोका बन्द गर्ने हुकुम दिन्छ र दुःखाई कम महसूस हुन्छ । केही केमिकलले त्यस गेटलाई बढी खोल्न मदद गर्छ जसमा सिरोटिनीन र ब्रेडिकिनीन आदि पर्छ । यी केमिकलले दुःखाई बढाइदिन्छन् । त्यस्तै केही केमिकल बढी बन्द गर्ने र केही बिल्कुल नै बन्द गर्ने खालका हुन्छन् । कम बन्द गर्न ओपियम, मोर्फिन आदि र पूरै बन्द गर्न इथर, क्लोरोफर्म आदि प्रयोग गरिन्छ । गेट बन्द गर्ने मेकानिज्मले नै एनेस्थेशियाको आविष्कार भएको हो जसको जनक टि.जी मोर्टन हुन् । गेटथ्योरीको खोज १९६५ मा एकजना साइकोलिस्ट रोनाल्ड मेल्जेक र अर्का एनाटोमिस्ट पेट्रिक वालगेटले मिलेर गरेका थिए । अस्तु !