• उमाशङ्कर द्विवेदी

बाँचेका सन्तप्तहरूलाई साथमा लिएर सुशर्मा पनि पलायन गरिहाले । कोही हात्तीमाथि सवार भएर त कोही घोडामाथि सवार भएर भागिगए । कोहीकोहीले त घोडालाई युद्धभूमिमैं छाडेर भागिहाले । कोही बुबालाइ भाग्न भन्थे त कोही दाजुभाइहरूलाई । कोही मामा र मित्रहरूलाई भाग्नको लागि उत्तेजित पार्दै भागिरहेका थिए ।

यस प्रकार तपाईंको सेना भयभीत तथा अशक्त भएर भाग्न लागेको हेरेर अश्वत्थामाले दुर्योधनसित सोधे– दुर्योधन, तपाईंको यो सेना त्रस्त भएर किन भाग्दैछ ? तपाईं यिनीहरूलाई रोक्ने प्रयास किन गरिरहनुभएको छैन ? पहिलेझैं तपाईंको मन पनि आज स्वस्थ देखा परिरहेको छैन । कर्ण आदि पनि कतै देखा परिरहेका छैनन् । अन्य दिन पनि भयानक युद्ध भए तर सेनाको यस्तो दुर्दशा कहिले पनि भएको थिएन । बताउनुहोस्, कुन महारथीको मृत्यु भएको हो, जसको कारणले तपाईंको सेना यस अवस्थामा पुगिसकेको छ ?

द्रोणपुत्रको यस्तो प्रश्न सुनेर पनि दुर्योधनले त्यस घोर अप्रिय समाचारलाई आफ्नो मुखले भन्न सकेनन् । उनीतर्फ हेर्दै उनले आँखाबाट बलिन्द्र धारा आँसु मात्र चुहाइरहे । यसपछि उनले कृपाचार्यसित भने– तपाईंले नै सेनालाई यस प्रकारले भागिरहेको कारण बताइदिनुहोस् ।

अनि कृपाचार्यले बारम्बार विषादग्रस्त हँुदै अश्वत्थामासित द्रोण मारिएको समाचार सुनाउन थाले । उनले भने– बाबु, हामीहरूले आचार्य द्रोणलाई अगि पारेर पाञ्चाल राजासित सङ्ग्राम गर्दै थियौं । त्यस युद्धमा धेरैजसो कौरव योद्धा मारिएपछि तपाईंका पिताले ब्रह्मास्त्र प्रकट गरेर भल्ल नामक बाणहरूबाट हजारौं शत्रुको नाश गरिदिए । त्यति बेला कालको प्रेरणाबाट पाण्डव, केकय, मत्स्य र विशेषतः पाञ्चाल वीरहरूमध्ये जो पनि द्रोणको रथको सामु आए, ती जम्मै नष्ट हुन पुगे । अनि त पाञ्चाल योद्धाहरू भागी गए । उनीहरूको बल र पराक्रम धूसरित भयो । उनीहरू हतोत्साहित भएर अचेतझैं हुन पुगे ।

उनीहरूलाई द्रोणको बाणबाट पीडित भएको हेरेर पाण्डवहरूको विजय चाहने श्रीकृष्णले भने– यी आचार्य द्रोणलाई मानिसले कहिले पनि जित्न सक्दैन, अरूको त के कुरा, इन्द्र पनि युद्धमा यिनलाई परास्त गर्न सक्दैनन् । मेरो विश्वासमा अश्वत्थामा मारिएपछि मात्र यिनी लडाइँ गर्ने छैनन्, त्यसै कारण कोहीले गएर अश्वत्थामाको मृत्यु भयो भन्ने झूटो खबर सुनाइदेओस् । यो कुरालाई जम्मैले माने तर केवल अर्जुनलाई यो कुरा मन परेन । युधिष्ठिरले पनि बडो कठिनतापूर्वक यसलाई स्वीकार गरे । भीमसेन लाज मान्दै आचार्य द्रोणको सामु गएर कराउन थाले– अश्वत्थामा मारिए तर आचार्यले यस कुराको विश्वास गरेनन् । यसैबीचमा भीमसेनले मालवाका राजा इन्द्रवर्माको अश्वत्थामा नामक हात्तीलाई मारिदिए । यसलाई युधिष्ठिरले पनि हेरे । द्रोणले साँचो कुरा पत्ता लगाउनको लागि राजा युधिष्ठिरसित सोधे– अश्वत्थामा मारिएको हो कि होइन ? मिथ्या भाषणमा कतिको दोष छ भन्ने कुरा थाहा जान्दाजान्दै पनि युधिष्ठिरले पनि भनिदिए– ‘अश्वत्थामा हतो, नरो वा कुञ्जरो वा ।’ अन्तिम वाक्य उनले बिस्तारै भने, जसलाई तपाईंको पिताले सुन्न सकेनन् । अब उनलाई तपाईं मरेको भन्ने पक्का विश्वास भइहाल्यो । उनी सन्तापबाट पीडित हुन पुगे । अब युद्धमा पहिलेझैं उत्साह रहेन । उनी दिव्यास्त्रहरूको परित्याग गरेर समाधिमा बसिहाले । त्यति बेला धृष्टद्युम्न उनको छेउमा गएर देब्रे हातले उनको कपाल समाती दाहिने हातको तरबार उचालेर उनको टाउको छिनालिदिए । सबै योद्धा कराएर भन्दै थिए– न मार… न मार… । अर्जुन त रथबाट हाम्फालेर उनको पछिपछि दौड्दै बाहु उचालेर बारम्बार भन्न थाले– आचार्यलाई जीवितै समातेर ल्याऊ, न मार । यस प्रकार सबैले मनाही गरिरहे पनि ती नृशंसले तपाईंको पितालाई मारि नै छाड्यो । उनी मारिएपछि हाम्रो पनि उत्साह भङ्ग भयो र त हामी भाग्दैछौं ।

धृतराष्ट्रले सोधे– सञ्जय, आचार्य द्रोणलाई मानव, वारुण, आग्नेय, ब्रह्म, ऐन्द्र र नाराणास्त्रको पनि ज्ञान थियो, उनी धर्ममा स्थित रहने खालका थिए र पनि धृष्टद्युम्नले अधर्मपूर्वक मारिदियो । उनी शस्त्र विद्यामा परशुरामको र युद्धमा इन्द्रको समानता राख्दथिए । उनको पराक्रम कार्तवीर्यझैं र बुद्धि बृहस्पतिको तुल्य थियो । उनी पर्वतझैं स्थिर र अग्निको समान तेजस्वी थिए । गम्भीरतामा समुद्रलाई पनि माथ दिने खालका थिए । यस्ता धर्मिष्ट पिता धृष्द्युम्नद्वारा अधर्मपूर्वक मारिएको समाचार सुनेर अश्वत्थामाले के भने ?

सञ्जयले भने– पापी धृष्टद्युम्नले मेरो पितालाई छलपूर्वक मारिदियो–यो सुनेर पहिले त अश्वत्थामा रुन थाले, उनको आँखाबाट बलिन्द्रधारा आँसु बग्न थाल्यो, फेरि उनी रोषले मुर्मुरिए, उनको सम्पूर्ण शरीर क्रोधले काम्न थाल्यो । बारम्बार आँखाबाट आँसु पुछ्दै उनी दुर्योधनसित भने– राजन्, मेरो पिताले हतियार बिसाइदिएका थिए र पनि ती नीचहरूले उनलाई मार्न लगाइदिए । यी धर्मध्वजिहरूले गरेको पापबारे मैले आज थाहा पाइहालें । युधिष्ठिरले पनि जुन नीचतापूर्ण क्रूर कर्म गरे त्यसबारे पनि मैले थाहा पाइसकें । मेरा पिता रणभूमिमा मृत्यु प्राप्त गरेर अवश्य नै वीरहरूको लोकमा गएका छन्, अतः उनको निम्ति मेरो मनमा कुनै किसिमको शोक छैन । क्रमशः …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here