प्रस, सेढवा, २० फागुन/
विकृति हटाउन तथा खर्च कम गर्न आदिवासी थारू समुदायमा दिउँसो विवाह गर्ने चलन बढेको छ ।
थारू परम्परा अनुसार लगातार तीन दिनसम्म हुने वैवाहिक कार्यक्रममा निकै खर्च हुने गरेको थियो । अहिले खर्च कम गर्न दिउँसो विवाह गर्ने प्रचलन बढेको छ । रातिको विवाहमा जन्ती लैजाँदा बेहुला र बेहुली दुवै पक्षलाई खर्चको भार बढेकाले दिउँसो विवाह गर्ने प्रचलन बढेको हो ।
पर्सागढी नगरपालिका–३ गोडपसराका जयनारायण चौधरीले दिउँसो हुने वैवाहिक कार्यक्रमका लागि रोडलाइट, पटाका नचाहिने र दिउँसो एकपटक मात्र भोज खुवाउनुपर्ने भएकोले खर्चमा कटौती हुने गरेको बताए । रातिको विवाहमा जन्ती लैजाँदा मादक पदार्थ सेवन गरी होहल्ला तथा झैंझगडा हुने गरेकाले अहिले थारू समुदायमा अधिकांश विवाह दिउँसो हुने गरेको उनले बताए ।
थारू कल्याणकारी समिति, पर्साका कार्यवाहक अध्यक्ष रामेश्वर महतोले दिउँसोको विवाहको अवधारणा धेरै अगाडि ल्याए पनि ढिलो गरी कार्यान्वयन भएको बताए । अहिले दिउँसो हुने विवाहका धेरै सकारात्मक पक्ष भएकाले धेरैजसो वैवाहिक कार्यक्रम दिउँसै भइरहेको अध्यक्ष थारूले बताए । अझ सामूहिक विवाहका लागि थारू कल्याणकारी समितिले पहल गरिरहेको उनलेले बताए । सामूहिक विवाह लागू गर्न सके धेरै कम खर्चमा धेरैजनाको विवाह हुने र आर्थिक व्ययभार पनि कम हुने उनले बताए । उनले सामूहिक विवाहलाई प्राथमिकता दिंदा गरीबहरूलाई पनि विवाह गर्न सहज हुने बताए ।