प्रस, परवानीपुर, २१ फागुन/
मुलुककै मुख्य भन्सारको रूपमा चिनिने वीरगंज भन्सारलाई लक्ष्य अनुरूपको राजस्व उठाउन टाउको दुखाइ भएको छ ।
आर्थिक मन्दीका कारण आयात करीब ६० प्रतिशतले कम हुँदा राजस्व सङ्कलनमा पनि ह्रास भएर लक्ष्य अनुरूपको राजस्व सङ्कलन गर्न असहज भएको भन्सार अधिकारीहरूको भनाइ छ । वीरगंज भन्सार कार्यालयले चालू आवको १२ महीनामा दुई खर्ब ६० अर्ब राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य लिएकामा फागुन १८ गतेसम्म ९६ अर्ब ६७ करोड ९१ लाख राजस्व मात्रै सङ्कलन भएको छ ।
चालू आवको साढे सात महीना बितिसक्दा पनि कुल लक्ष्यको ५७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाउँछ । भन्सार अधिकारीको विश्लेषण अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात हुने मालवस्तुका उत्कृष्ट २० वटा सामानमध्ये १७ वटा वस्तुको आयातमा पाँचदेखि ५० प्रतिशतसम्म ह्रास भएकाले राजस्व सङ्कलनमा कमी हुँदै गएको हो ।
प्रतिदिन वीरगंज भन्सारले ७१ करोड राजस्व सङ्कलन गर्नुपर्नेमा पेट्रोलियम पदार्थबाहेक दैनिक ३५ देखि ४० प्रतिशत मात्र सङ्कलन भइरहेको वीरगंज भन्सारका सूचना अधिकारी रामप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार कुनै कुनै दिन नेपाल आयल निगमको डिजल, पेट्रोललगायत पेट्रोलियम पदार्थ ठूलो परिमाणमा आयात हुँदा डेढदेखि दुई अर्बसम्म पनि राजस्व सङ्कलन हुँदै आएको छ ।
विगत लामो समयदेखि वीरगंज भन्सारमा रोकिराखिएका विभिन्न आयातकर्ताहरूका करीब दुई हजार सवारीसाधन अहिले पनि होल्ड भएर रोकिएकाले सवारीसाधनबाट राजस्व सङ्कलन हुन नसकेको उनले बताए ।
सवारीसाधनको मात्र जाँचपास भयो भने करीब चार अर्ब उठ्न सक्ने भन्सार व्यवसायीहरूको अनुमान छ । दुई हजारवटा गाडीमध्ये एक हजार २०० गाडी सिप्रदीको मात्रै भएको र सोको पार्किङ शुल्क १० करोड बक्यौता रहेको उनले बताए । यस्तो अवस्था रह्यो भने वीरगंज भन्सारको राजस्व सङ्कलन चालू आवको असार मसान्तसम्म ६० प्रतिशतको हाराहारीमा जान सक्ने प्रक्षेपण गरिएको छ ।