प्रस, वीरगंज, २१ फागुन/

वीरगंज महानगरपालिकाले घण्टाघरदेखि दक्षिणतर्फ रहेको नेपाल टेलिकमपछाडि लाग्ने खुद्रा तरकारी बजार गीता मन्दिरदेखि पूर्वतर्फ सारे पनि पुनः पुरानै स्थानमा बजार लाग्न शुरू भएको छ ।

गीता मन्दिरदेखि पूर्वतर्फ खाली जग्गामा महानगरले खुद्रा तरकारी तथा फलफूल बजार सारेर मीनाबजारको गलीमा लाग्ने बजार हटाएको थियो । तर अहिले पुनः सोही ठाउँमा तरकारी तथा फलफूल बिक्री शुरू भएको छ । गीता मन्दिरअगाडिको नयाँ तरकारी तथा फलफूल बजारमा ग्राहकहरू नआएर बिक्री नभएको भन्दै पुनः पुरानो ठाउँमा सारिएको एकजना व्यवसायीले बताए ।

गाउँदेहातबाट आउने ग्राहकहरूको लागि गीता मन्दिरअगाडिको बजार अपायक रहेको र उनीहरू तरकारी तथा फलफूल खरीद गर्न पुरानै बजार आउने गरेको तथा महानगरले नयाँ बजार स्थापना गरेको ठाउँमा वन–वे भएकोले ग्राहकहरू आउन नसकेर बजार नचलेको व्यवसायीहरूले बताएका छन् ।

कतिपय खुद्रा तरकारी तथा फलफूल व्यापारीहरू बिपी उद्यान र मीनाबजारमा फर्केका छन् भने केही व्यापारी मात्र अहिले गीता मन्दिरनजीकको नयाँ बजारमा छन् ।

महानगरले खुद्रा तरकारी तथा फलफूलको बिक्रीको थलो बनाएको गीता मन्दिरनजीकको नयाँ बजारमा बिपी उद्यानमा रहेको थोक तरकारी बजार पनि सार्ने र बिपी उद्यानलाई खुद्रा व्यापारबाट मुक्त गराउने नीति राखे पनि सो गर्नुअगावै अहिले खुद्रा तरकारी तथा फलफूल व्यवसायीहरू पुरानै ठाउँमा गएर व्यवसाय सञ्चालन गर्दा बिपी उद्यान पुरानै अवस्थामा फर्किएको छ । नयाँ बजारमा महानगरले बत्तीको व्यवस्था गर्नुका साथै माटो हालेर जग्गा सम्याएको छ ।

यसैबीच, वीरगंज महानगरले गहवामाई मन्दिरअगाडिबाट हटाएको खुद्रा बजार पनि फागु पूर्णिमाको अवसरमा पुनः शुरू भएको छ । महानगरले गहवामाई मन्दिरअगाडिको सडकखण्डमा व्यापार व्यवसाय गर्न निषेध गरेको थियो । नगर प्रहरी तथा प्रहरी परिचालन गरेर सो ठाउँबाट साइकलबाहेक आवतजावतमा रोक लगाएको महानगरले पछिल्लो समयमा वैवाहिक कार्यक्रमको लागि मन्दिर दर्शन गर्न छुट दिएको थियो । फागु पूर्णिमामा खुद्रा बजार पनि लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here