प्रस, वीरगंज, २० फागुन/
ठोरी गाउँपालिकाको आर्थिक सहयोग र न्हू दर्पण अनुसन्धान तथा परामर्स केन्द्र ठोरीले सञ्चालन गरेको महिला नेतृत्व विकास तथा आत्मरक्षा, १० दिने तालीम शनिवार सम्पन्न भएको छ ।
ठोरी वडा नं. १ का महिलाहरूका लागि सञ्चालित तालीमको समापन कार्यक्रमका मुख्य अतिथि गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेर गरेका थिए ।
सो अवसरमा पालिका अध्यक्ष श्रेष्ठले भौतिक निर्माण मात्र विकास होइन भन्दै जीवनोपयोगी दक्षता विकास कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।
गाउँ कार्यपालिका सदस्य धनमाया घलानको अध्यक्षतामा वडापालिकाको सभाकक्षमा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष तथा तालीमका संरक्षक धनमान थापा, नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्ग्र श्रेष्ठ, सचिव जगेन्द्र पौडेल, मुख्य प्रशिक्षक प्रताप श्रेष्ठ, नागरिक अगुवा चेतवहादुर थापा, महिला अगुवा रूपा पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रशिक्षार्थी अप्सरा स्याङतानले सहजीकरण गरेको कार्यक्रममा प्रशिक्षार्थी सरला तिमल्सिनाले तालीम गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । फागुन ७ गतेदेखि शुरू भएको तालीममा मार्शलआर्टतर्फ प्रतीक्षा श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् भने कानूनतर्फ अधिवक्ता वीरेन्द्रप्रसाद यादव, सूचना तथा सञ्चार तर्फ सञ्चारकर्मी हेम चापागाईं, सुरक्षा तर्फ सशस्त्र प्रहरी निरीक्षक विमल केसी र वरिष्ट प्रहरी नायब निरीक्षक कुलबहादुर कुँवरले प्रशिक्षण दिएको मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी गराएका छन् ।