प्रस, परवानीपुर, १७ फागुन/
नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा रहेको नारायणी अस्पताल, वीरगंजको अवस्था पछिल्लो समय भद्रगोल हुँदै गएको छ । अस्पतालको प्रशासन कमजोर बन्दै गएपछि अस्पताल प्रभावकारी ढङ्गले सञ्चालन गर्न चुनौती थपिएको छ ।
अस्पतालको बहिरङ्ग सेवाको एक्स–रे मेशिन विगत दश दिनदेखि बिग्रिएको छ । जसले गर्दा बिरामीहरू निजी क्लिनिकतर्फ जान बाध्य हुनुपरेको बिरामीहरूले गुनासो गरेका छन् ।
एक साताभन्दा बढी समय भए तापनि एक्स–रे मेशिन मरम्मतसम्भार गरी सुचारु गर्न नसक्दा बिरामीलाई समस्या भइरहेको छ ।
यसैगरी, अस्पतालको प्रयोगशालामा हुने चेकजाँचको सेवामा पनि विगतभन्दा कमी आएको देखिएको छ । पहिले कलेजो परीक्ष्Fण, लिपिड प्रोफाइल, थाइराइडलगायतका परीक्ष्Fण हुन्थ्यो भने अहिले ती सेवाहरू केमिकल र जनशक्ति अभावका कारण ठप्प भएको अस्पताल स्रोतले जनाएको छ ।
यी चेकजाँच अहिले निजी क्लिनिकको प्रयोगशालामा भइरहेको छ । निजी क्लिनिकका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कमिशन दिने भएकाले यस्तो भइरहेको बुझिएको छ । नारायणी अस्पतालको अर्को समस्या भनेको साढे आठ बजेदेखि पुर्जी काटेका बिरामीहरू साढे ११ बजेपछि मात्र ओपिडीमा चिकित्सकलाई भेट्न पाउँदा उनीहरूले दुःखेसो पोखेका छन् ।
वीरगंज इनर्वाका विजय पटेलका अनुसार बिहीवार पुर्जी काटेको अढाई घण्टा बितेको र बिहान १० बजेदेखि ओपिडीमा चेकजाँच शुरू हुनुपर्नेमा साढे १० बजेपछि मात्र चिकित्सक आएकाले यस्तो रवैयालाई समयमा सुधार गर्नुपर्छ । ओपिडी चलिरहँदा विभिन्न औषधि कम्पनीका एमआरहरू ओपिडीमा पसेर बिरामीहरूलाई बाधा उत्पन्न गर्ने गरेका गुनासाहरू पनि छन् ।
यस्तो हुनुमा चिकित्सक र अस्पताल प्रशासन नै गैरजिम्मेवार देखिन्छन् । चिकित्सकको निजी क्लिनिकमा एमआर जाँदा बाधा उत्पन्न हुने तर नारायणी अस्पतालमैं एमआरको भिजिट भएपछि काम पनि कम गर्न मिल्ने र क्लिनिकको समय सदुपयोग हुने भनेर कतिपय चिकित्सकले निजी क्लिनिकभन्दा सरकारी अस्पतालको ओपिडीमा एमआरलाई बोलाउने गरेका छन् ।
त्यसैगरी, नारायणी अस्पतालको आइसियू, गाइनो एवं बालरोग विभागका शौचालय सफा नभएकाले उपचार गर्न आउने बिरामीहरूलाई समस्या हुने गरेको छ ।
एमआरआई खरीदमा अनियमितता : अख्तियारद्वारा छानबीन
नारायणी अस्पतालमा जडान भइरहेको एमआरआई मेशिन खरीदमा अनियमितता भएको उजूरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेकोले छानबीन भइरहेको छ ।
पूर्व मेसु वीरेन्द्रलाल प्रधानको पालामा स्वास्थ्य विभागले खरीद गरेको भ्याटबाहेक २८ करोडको एमआरआई अहिले जडान भइरहेको छ । उक्त एमआरआई एक महीनाभित्र सञ्चालन हुने बताइएको छ । तर उक्त एमआरआईमा छ करोडभन्दा बढीको कमिशन एवं अनियमितताको चलखेल भएकोले त्यसको छानबीन भइरहेको बताइएको छ ।
अख्तियारले बुधवार नारायणी अस्पतालमा छापा मारी एमआरआई खरीदसम्बन्धी कागजात र जानकारी लिएको छ । यस विषयमा अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले एमआरआई खरीदमा अस्पतालले कुनै भूमिका निर्वाह नगरेको र सबै काम स्वास्थ्य विभागबाट भएकोले आफूहरू दोषी नरहेको बताए । उनले अख्तियारद्वारा माग भएका सबै कागजात लेखेर पठाइएकोसमेत जानकारी गराए ।
लुम्बिनी साइन्सेज काठमाडौंले स्वास्थ्य विभागलाई आपूर्ति गरेको एमआरआई मेशिन थ्री टेस्ला ब्रान्डको हो । यसको अन्तर्राष्ट्रिय मूल्य २० देखि २४ करोडभित्र पर्ने भए तापनि सरकारी निकायबाट खरीद भएकोले यसमा करोडौंको घोटाला भएको हुन सक्ने अख्तियारमा दिइएको उजूरीमा दाबी गरिएको छ ।
त्यसैगरी, अस्पतालको सेवा सुविधा र अस्पतालको व्यवस्थापन सम्बन्धमा उठेका विषयमा प्रशासनको बैठक बोलाइ समस्या समाधान हुने बताइएको छ ।