प्रस, वीरगंज, १७ फागुन/
माईराम पोखरी (चिल्डे«न पार्क)को अतिक्रमण हटाउन मङ्गलवारदेखि अभियान शुरू गरेको महानगरपालिकाले बुधवार पनि तोडफोड जारी राख्यो ।
बुधवार बिहानदेखि भग्नावशेष हटाएर एक्साभेटर चल्ने बाटो बनाइ पुनः तोडफोड शुरू गरेको छ । वीरगंज महानगरका सरसफाइ प्रमुख राजकृष्ण ताम्राकारले हिजो तोडफोड गरिएको चिल्डे«न पार्कको पूर्व–दक्षिणतर्फको अवैध संरचना बुधवार भत्काउने कार्य भएको बताए ।
एक्साभेटरबाट फोहर उठाइ ट्याक्टरबाट फालेर पछि अतिक्रमित संरचना भत्काउने काम गरिएको थियो । हिजो पूर्वतर्फको पाँच/छवटा घर महानगरले तोडफोड गरेको थियो । चार बिघा क्षेत्रफलमा रहेको माईराम पोखरी अतिक्रमणको शिकार भएर १९ कट्ठाको चिल्डे«न पार्कमा परिणत भएको थियो । पुरानो नापनक्शामा सार्वजनिक पोखरी रहेको र पछि खरीदकर्ताले थोरै जमीन किनेर पोखरीको डिल धेरै अतिक्रमण गरेका थिए । अतिक्रमित जग्गामा अहिले ठूलठूला भवन छन् । महानगरले उक्त जग्गाको नक्शापास नभएको भनेर हिजोदेखि एक्साभेटर लगाएर पक्की भवनहरू तोडफोड अभियान शुरू गरेको हो ।
अतिक्रमित जग्गाको स्वामित्व नयाँ नापी मालपोत कार्यालयबाट जग्गाधनीहरूले आफ्नो नाममा पारेको र सोही आधारमा अदालतबाट अन्तरिम आदेश, निषेधाज्ञा जस्ता आदेशहरू जारी गरेर नगरपञ्चायतदेखि अहिले महानगर हुन्जेलसम्म अतिक्रमित जग्गा खाली गराउने महानगरको अभियानलाई रोक्दै आएको थियो । अहिले पनि कात्तिक २१ गते महानगरले पहिलोचोटि अभियान शुरू गरेपछि अदालतबाट अन्तरिम आदेश जारी भएको थियो । अन्तरिम आदेश सकिएको र जग्गासम्बन्धी विवादमा नपरेर महानगरले आफ्नो दायित्व अन्तर्गत भवन निर्माणपूर्व नक्शापास गर्नुपर्ने र सो नगरेको संरचना भत्काउन पाउने कानूनी अधिकार प्रयोग गरेर अभियान शुरू गरेको हो ।
हिजो भत्किएका घरहरूको फोहरले एक्साभेटर सञ्चालनमा अवरोध पुगेका कारण आज त्यहाँको फोहर हटाएर पुनः एक्साभेटर चलाएर नक्शापास नभएका भवन भत्काइएको सरसफाइ प्रमुख ताम्राकारले बताए ।