प्रस, वीरगंज, ७ फागुन/
वीरगंजका प्रथम नगरप्रमुख स्व केशरप्रसाद मानन्धरको स्मृतिमा वीरगंज भेन्ट्रान्स सिटीद्वारा आइतवारदेखि फूटबल प्रतियोगिता शुरू भएको छ ।
आदर्शनगर रङ्गशालामा शुरू भएको प्रथम नगरप्रमुख स्व केशरप्रसाद मानन्धरको स्मृतिमा आयोजित प्रतियोगिताको वीरगंज मनपाका उपप्रमुख इम्तियाज आलमले शान्तिको प्रतीक परेवा उडाएर तथा रेफरीलाई फूटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । भेन्ट्रान्स सिटीका अध्यक्ष सबिन बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पर्सा जिल्ला फूटबल सङ्घका अध्यक्ष अनिल कलवार, नेपाल फोटो पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष पङ्कज श्रेष्ठ, नेपाल खेलकूद पत्रकार महासङ्घ, पर्साका अध्यक्ष तिवारी यादव, वडाध्यक्ष आशुतोष चतुर्वेदी, मनोजकुमार यादव, सिटिजन इन्टरनेशनल बैंक मधेस प्रदेशका प्रमुख दिवससिंह ठकुरी, निशान्त लामिछानेलगायतको सहभागिता थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा नृसिंह मावि, वीरगंजले लिटिल फ्लावर मावि, परवानीपुरलाई चार गोलअन्तरले पराजित गर्याे । नृसिंहका सन्नी पटेल र विष्णु महतोले समान दुई/दुई गोल गरेका थिए । यस खेलको ‘म्यान अफ दी म्याच’ महतो घोषित भए । प्रतियोगिता एक सातासम्म सञ्चालन हुने र महानगरका सामुदायिक र संस्थागत गरी १२ वटा विद्यालयको सहभागिता छ ।