प्रस, वीरगंज, ६ फागुन/
बारागढी गाउँपालिकाका समाजसेवी स्व योगेन्द्रराज गौतमको शनिवार सालिक अनावरण भएको छ ।
बारागढी गापा–१ पिपरा वस्तीपुरस्थित योगेश्वरनाथ मन्दिर परिसरमा बाराका सांसद अच्युत मैनालीले सालिक अनावरण गरेका थिए ।
सालिक अनावरण गर्दै सांसद मैनालीले बारागढीमा मात्रै नभई गौतम परिवारले थुप्रै स्थानमा शैक्षिक, स्वास्थ्य, सडक र बजारहरूको निर्माण गरेर कीर्तिमान बनाएको बताए । उनले समाजसेवामा लागेका स्व गौतमको सालिक अनावरण गर्ने शौभाग्य पाउँदा आफू निकै खुशी भएको बताए । खान लगाउन मुश्किल भएको बेला शिक्षा, स्वास्थ्य, सडक जस्ता पूर्वाधारका लागि जग्गा दान गर्नु महान् कार्य भएको उनले बताए । उनले बारागढी गापाको शैक्षिक सुधारका लागि साढे सात दशकअघि भारतबाट शिक्षकहरू मगाएर आफ्नो घरमा राखेर शैक्षिक वातावरणको सृजना गरेका थिए । स्व गौतमकै कारण बारागढी गापाका थुप्रैजना शिक्षा लिएर रोजगार गर्न सकेका थिए ।
स्व गौतमले आफ्नो जीवनकालमा बारागढी गापाका बुढगाई माध्यमिक विद्यालय, पिपरा शिवमन्दिर, जनता प्राथमिक विद्यालय, स्वास्थ्य चौकी, बजार, पिपरा, सुखी, पथरा सडकलगायतमा जग्गादान गरेकाले स्थानीयले स्व गौतमको सालिक निर्माण गरेर आज अनावरण गराएका हुन् ।
कार्यक्रममा समाजसेवी स्व गौतमका छोरा माधव गौतम, सुशील गौतम, अमोदमणि दीक्षित, बारागढी गापा अध्यक्ष अशोक जैसवाल, समाजसेवी देवेन्द्र चौधरी, प्रभु दास, कुलमणि चौधरी, राजाराम साह, अशोक साहलगायतको सहभागिता थियोे ।