• डा शिवशङ्कर यादव

दुर्ई स्नायुबीचको जक्सनलाई सिनेप्स भनिन्छ । स्नायुलाई उत्तेजित पारेपछि उसले दिने प्रतिक्रियालाई रिफ्लेक्स भनिन्छ । पहिले सिनेप्समा आउनुस् । ग्रीकमा सिनको मतलब टुगेदर र हेप्टिनको मतलब हुन्छ टुक्लास्प वा पक्रिनु वा अङ्गालो हाल्नु । मतलब एकअर्कालाई बाँध्नु वा पकड्नु । स्नायुको सम्बन्धमा दुर्ई न्युरोनको मिलनबिन्दुलाई सिनेप्स भनिन्छ । रेलवे लाइनहरू कसरी जोडिएका हुन्छन ? के भारतवर्षको रेलको सम्पूर्ण जाल एउटा मात्र फलामको पट्टी बिछ्याएर बनाउन सम्भव छ ? सम्भव छैन । तर फलामका ससाना पट्टीलाई जोड्दै लगेर त्यो सम्भव हुन्छ । त्यही फलामको दुई पट्टीलाई जोर्नी भनिन्छ, जसलाई नटबोल्टले जोडेर एक लाइनमा राखिएको हुन्छ । हाम्रो सम्पूर्ण शरीरमा नर्भको जुन जाल छ, त्यसलाई पनि त्यस्तै न्युरोनलाई आपसमा जोडिएर बनाइएको छ र दुर्ई न्युरोन एक ठाउँमा मिल्ने बिन्दुलाई सिनेप्स भनिन्छ । भारतभरिको रेलवेको सिनेप्सलाई कसैले गनेको छ वा छैन ? तर नर्भको सम्बन्धमा वैज्ञानिकहरूले गिन्ती गरेका छन् र केवल ब्रेनमा तिनको सङ्ख्या एक हजार ट्रिलियन रहेको छ । अर्को शब्दमा यसलाई अनन्त पनि भन्न सकिन्छ । सिनेप्सको खोज सन् १८७७ मा वैज्ञानिक रेमन्डले नै गरे पनि नामकरण भने अङ्ग्रेज चाल्र्स स्कट सेरिङटनले सन् १९०६ मा गरे । सिनेप्सको निर्माण भ्रूणावस्थाको सात सप्ताहमा शुरू हुन्छ र जन्मिदा एक न्युरोनमा अढाई हजार सिनेप्स र दुई वा तीन वर्षमा बढेर प्रतिस्नायु १५ हजार पुग्छ । यसको उमेर दुईदेखि पाँच दिनको हुन्छ र सधैं बनिराखेको हुन्छ । बुढेसकालमा न्युरोन सङ्कुचित हुन्छन्, माइलिनसिथ नष्ट हुन्छ र साथै सिनेप्सको पनि त्यही हाल हुन्छ । त्यस हालतमा के देखिएको छ भने मान्छेको सिक्ने सीप र याद राख्ने शक्ति कम भएर जान्छ । यसको मतलब यो भयो कि जसमा जति बढी सिनेप्सको सङ्ख्या छ, त्यसको सिक्ने क्षमता र याद गर्ने शक्ति त्यति नै बढी हुन्छ ।

वर्गीकरण : रेललाइनमा त फलामका सबै पट्टी सपाट र एकनासका हुन्छन् र त्यसका जोर्नी पनि समान हुन्छन् । तर नर्भसेलका तीन भाग हुन्छन्ः सोमा, एक्सन र डेन्ड्राइट । कुनैको एक्शन अर्र्कोको एक्शनसँग, कुनैको सोमासँग र कुनैको डेन्ड्राइटसँग जोडिएको हुन्छ । अतः जोडिने ठाउँ पनि तीन प्रकारका नै भए, जुन निम्नलिखित हुन्छन्ः एक्सोएक्सोनिक अर्थात् जव एक्शन एक्शनसँग मिल्छ । त्यस्तै, एकसोडेन्ड्राइटिक र एक्सोसोमेटिक सिनेप्स पनि हुन्छन् । यसलाई एनाटोमिकल वा रचनात्मक सिनेप्स वर्गीकरण भनिन्छ । २. सिनेप्समा कस्तो इम्पल्स प्रवाहित हुन्छ, त्यसको आधारमा दुई प्रकारका हुन्छन्ः इलेक्ट्रिकल सिनेप्स जहाँ इलेक्ट्रिकल इम्पल्स प्रवाहित हुन्छ । केमिकल सिनेप्स जहाँ केमिकल इम्पल्स प्रवाहित हुन्छ । यसलाई सिनेप्सको कार्यगत विभाजन भनिन्छ । अक्सर सिनेप्सको प्रकार केमिकल नै हुन्छ र त्यस केमिकललाई न्युरोट्रान्समीटर भनिन्छ । अहिलेसम्म करीब ५० भन्दा बढी न्युरोट्रान्समीटरको पहिचान गरिएको छ, जसमा मुख्य एसिटाइलकोलिन, नारइपिनेफ्रिन, सिरोटिनिन आदि छन् ।

इलेक्ट्रिकल र केमिकल सिनेप्सको रचनामा केही अन्तर हुन्छ । केमिकल सिनेप्समा दुर्ई न्युरोनका बीचमा २० नैनोमीटरको एउटा खाली स्थान हुन्छ, जसरी रेललाइनका दुर्ई पट्टीको बीचमा पनि देखिन्छ । रेललाइनमा त खाली ठाउँ यस कारण हुन्छ कि त्यो भएर पास हुने रेलको चक्काको गर्मीले फलाम फैलिएर आपसमा नटाँसिऊन् किनभने त्यस्तोेमा फलामको लाइन बाङ्गो भएर रेल दुर्घटना हुने सम्भावना हुन्छ । रेलपट्टीको खाली ठाउँमा केवल हावा हुन्छ । नर्भको सम्बन्धमा खाली ठाउँलाई क्लेफ्ट भनिन्छ र त्यसमा एक प्रकारको द्रव भरिएको हुन्छ । पहिलो नर्भलाई प्रिसिनेप्टिक न्युरोन भनिन्छ, जसको एक्शनमा गोल्जी एपेरेट्स हुन्छ, जसले न्युरोट्रान्समीटर बनाउँछ, जुन भेसाइकिल भन्ने संरचनामा त्यही स्टोर भएर जान्छ । चाहिएको बेला भेसाइकिल फुट्छ र न्युरोट्रान्समीटर क्लेफ्टमा आउँछ, जुन अर्को नर्भ जसलाई पोस्टसिनेप्टिक न्युरोन भनिन्छ, मेम्ब्रेनद्वारा अवशोषित भएर अर्को नर्भमा पुग्छ । यस्तै, एकपछि अर्को नर्भ हुँदै अनगिन्ती इम्पल्स बनेर सेन्टरमा पुग्छ र त्यसको प्रतिउत्तर लिएर फेरि त्यस्तै इम्पल्स सम्बन्धित अङ्गमा पुगेर त्यसलाई क्रियाशील बनाउँछ । केमिकल इम्पल्स केवल एउटै दिशामा प्रवाहित हुन्छ । यसमा उत्तेजित पार्नु र उत्तेजनालाई रोक्नु दुर्ई प्रकारका इम्पल्स हुन्छन् । उत्तेजित पार्ने इम्पल्स हरेक नर्भमा ज्यूँका त्यूँ पास हुँदै जान्छ र अन्तमा त्यसको प्रतिक्रिया देखिन्छ । तर कहिलेकाहीं त्यस्तो उत्तेजना वाञ्छित हुँदैन र अर्को नर्भमा त्यसको प्रवाहलाई रोकिन्छ, जुन सेकेन्ड नर्भको इन्हिवीटरी इम्पल्सको रूपमा बुझिन्छ । त्यसको लागि क्लेफ्टमा एसिटाइलकोलिनएस्टरेज नामक इन्जाइम हुन्छ, जसले एसिटाइलकोलिनलाई निस्तेज पारिदिन्छ ।

इलेक्ट्रिकल सिनेप्समा क्लेफ्ट होइन, बरु ससाना प्रोजेक्सनले दुवै नर्भ जोडिएका हुन्छन्, जसलाई क्लेफ्ट होइन, गैप जक्सन भनिन्छ । इलेक्ट्रिकल इम्पल्स सीधैं एकपछि अर्कोमा जान्छ र दुवै दिशामा प्रवाहित हुन्छ । यस प्रकारको सिनेप्स नर्भ, कार्डिएक मांसपेशी, फाइबर स्मुथ मांसपेशी, आन्द्रा र आँखाको लेन्समा पाइन्छन् ।

सिनेप्स डिले : सिनेप्समा इम्पल्सलाई एक नर्भबाट अर्को नर्भमा पुग्न केही समय लाग्छ । त्यसको कारण यो हो कि न्युरोट्रान्समीटर भेसाइकिलबाट बाहिर आउन र क्लेफ्टबाट अर्को न्युरोनमा पुग्न विलम्ब हुन्छ, जसलाई सिनेप्टिक डिले भनिन्छ । त्यस कारण त्यसको सम्बन्धित अङ्गको प्रतिक्रियामा पनि विलम्ब हुन्छ, जसलाई लेटेन्ट पिरियड भनिन्छ ।

फेटिगः जब मांसपेशी लगातार काममा जोतिएको हुन्छ, तब त्यस मांसपेशी सम्बन्धित नर्भको सिनेप्सले त्यति बढी न्युरोट्रान्समीटर भेसाइकिलबाट निकाल्न सक्दैन र मांसपेशी शिथिल भएर जान्छ । यसलाई फैटिग भनिन्छ ।

समेसनः अङ्ग्रेजीमा समेसन मतलब हुन्छ जोड । जब अनेक न्युरोनहरूलाई एकपछि अर्को गरी उत्तेजित पारिन्छ वा एउटै नर्भलाई अनेकचोटि उत्तेजित पारिन्छ, तब अर्को न्युरोनमा इम्पल्सको धेरै बढोत्तरी हुन पुग्छ । यस्तो हरेकचोटिको इम्पल्स जोडिंदै जानुले हुन पुग्छ र यसैलाई समेसन भनिन्छ । यो समेसन पनि दुई प्रकारको हुन्छः स्पासियल र टेम्पोरल । पहिलो तब हुन्छ, जब धेरै न्युरोन एकपछि अर्को गरी उत्तेजित पारिन्छ तथा दोस्रो तब हुन्छ, जब एउटै प्रिसिनेप्टिक न्युरोनलाई लगातार उत्तेजित पारिन्छ ।

कन्भर्जेन्स र डाइभर्जेन्सः जब धेरै प्रिसिनेप्टिक न्युरोन एउटा मात्र पोस्टसिनेप्टिक न्युरोनसँग मिल्छ, तब त्यसलाई कन्भर्जेन्स र जब एउटा मात्र प्रिसिनेप्टिक न्युरोन धेरै पोस्टसिनेप्टिक न्युरोनसँग मिल्छ, तब त्यसलाई डाइभर्जेन्स भनिन्छ ।

रिफ्लेक्सः लैटिनमा रिफ्लेक्सको मतलब हुन्छ, टु वेन्ड बैक । अर्थात् कुनै कुरा कुनै बिन्दुमा परेपछि फेरि आउने दिशातिर नै फिर्ता हुन्छ, तब त्यसलाई रिफ्लेक्स र त्यस क्रियालाई रिफ्लेक्सन भनिन्छ । यसलाई हामीले प्रकाशको उदाहरणले हेर्छौं । जब प्रकाश कुनै वस्तुमा पर्छ, तब त्यस वस्तुसित ठक्कर खाएर फिर्ता हुन्छ र त्यो यदि तपाईंको आँखामा पर्छ, तब त्यो वस्तु देखिन्छ । वस्तुबाट फर्किने प्रकाश रिफ्लेक्स हो र वस्तु देखिने क्रिया रिफ्लेक्सन हो । वस्तुको हेराइ प्रकाश होइन, बरु त्यसको प्रतिक्रिया हो । यसैलाई नेपालीमा परावर्तन भनिन्छ र त्यसले देखाउने परिणाम वा प्रत्युत्तरलाई रिफ्लेक्स भनियो । तपाईं आगोमा हात हाल्नुस् । तुरुन्त हात आफैं हट्छ । यही रिफ्लेक्स हो, जो तपाईंले चाहेको होइन, बरु स्वचालित हुन्छ र जीवनरक्षक पनि हुन्छ । धेरै तीक्ष्ण प्रकाश आँखामा पर्यो भने आँखा बन्द भएर अत्यधिक प्रकाशले रेटिनामा हुने क्षतिबाट बचाउँछ । यही रिफ्लेक्स हो । यो कुरा कसलाई थाहा छैन होला ? तर यसको खोज र फिजियोलोजिकल विवरण अङ्ग्रेज वैज्ञानिक मार्शल हलले १९औं शताब्दीमा गरे । यस प्रकार कुनै पनि रिफ्लेक्स एक्शनमा पाँच कुरा अनिवार्य हुन्छः उत्तेजना पार्ने कुरा जसलाई स्टिमुलस भनिन्छ जसरी आगो । उत्तेजना प्राप्त गर्ने रिसेप्टर र सेन्सरी नर्भ जुन भएर उत्तेजना सेन्टरमा जान्छ अर्थात् तेस्रो भयो सेन्टर । सेन्टरबाट प्रत्युत्तर एक्शन गर्ने अङ्गमा पठाउने जसरी मांसपेशी सङ्कुचित भएर आगोबाट हात हटाउनु । यी पाँचैलाई रिफ्लेक्स आर्क भनिन्छ । यी भएन भने रिफ्लेक्स एक्शन देखिंदैन । यसरी यी पाँच कुरा क्रमशः रिसेप्टर, सेन्सरी नर्भ, सेन्टर, जवाब लिएर आउने मोटर नर्भ र एक्शनमा आउने अङ्ग ।

यहाँ ध्यान दिनुपर्ने कुरा हो, इन्सटिक्ट । मान्छेले इन्सटिक्ट र रिफ्लेक्समा अन्तर छुट्याउन सक्नुपर्छ । संसारभरिका कुकुर स्वामीभक्त हुन्छन् । त्यो इन्सटिक्ट हो । साइबेरियाका चरा नेपाल आउँछन् । त्यो इन्सटिक्ट हो । बच्चा आमाको दूधको टुप्पो आफैं खोजेर खान्छ । त्यो इन्सटिक्ट हो । के देखियो यसमा ? त्यहाँ कुनै स्टिमुलस छैन । पूरा वातावरणको ज्ञान नै जन्मजात छ । जबकि रिफ्लेक्समा एउटा सानो स्टिमुलस जरुरी हुन्छ ।

क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here