प्रस, वीरगंज, ४ फागुन/
भूमिसुधार तथा मालपोत कार्यालय, पर्सा दुई सातादेखि प्रमुखविहीन छ । कार्यालयका प्रमुख मालपोत अधिकृत कमोद तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी माघ २० गते मुद्दा दायर गरेपछि कार्यालय प्रमुखविहीन भएको हो ।
मालपोत कार्यालय, पर्सा प्रमुखविहीन भएपछि मुद्दालगायत प्रमुखले गर्ने कार्यहरू प्रभावित भएका छन् । दुई सातादेखि प्रमुख मालपोत अधिकृतमार्फत हुने सबै काम रोकिएका छन् ।
प्रमुख मालपोत अधिकृतले नै पछिल्लो केही समयदेखि प्रमुख भूमिसुधार अधिकृतको जिम्मेवारी सम्हालेकाले भूमिसुधारको काम पनि प्रभावित छ । प्रमुखले गर्ने मोहीलगायतका फैसलाहरू अहिले हुन सकेका छैनन् ।
दुई सातादेखि दुवै कार्यालय प्रमुखविहीन भएपछि सेवाग्राहीहरूलाई समस्या भएको हो ।
मालपोत कार्यालय, पर्सा प्रमुख मालपोत अधिकृत एकजना, चारजना मालपोत अधिकृत र एकजना कम्प्युटर अधिकृत गरी छजनाको दरबन्दी छ तर छजनै अधिकृत मालपोतमा छैनन् र सुब्बाको भरमा कार्यालय चलिरहेको छ ।
नायब सुब्बा राजेश्वर साहले प्रमुख अधिकृत र अधिकृतहरू नभएको बताए । उनले प्रमुख मालपोत अधिकृतबाट हुने कार्य दुई सातादेखि प्रभावित भएको र अन्य कामहरू भने नियमितरूपमा भइरहेको बताए ।