प्रस, निजगढ, ४ फागुन/

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई हाँक्ने मुख्य दलका नेताहरूले बेलैमा गम्भीरताका साथ सोच्नुपर्ने बेला आइसकेको बताएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको नेतृत्वमा झापाको मेचीबाट केही दिनअघिदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्यहरू सम्मिलित अभियान शुरू गरेकोप्रति लक्षित गर्दै पुनर्उत्थानवादी शक्तिहरू पुनः उठ्न सक्ने सङ्केत देखिन थालेको बताएका छन् ।

भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) लिबरेशन पार्टीको ११औं महाधिवेधनमा सहभागी हुन हवाई उडानमार्फत काठमाडौंबाट बाराको सिमरा विमानस्थल आउँदा नेकपा (एस) बारा जिल्ला कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आए दुई/चार मिनेटमैं छिनोफानो हुने बताउँदै अहिले खिंचडी सरकार भएकोले कहिलेसम्म टिक्ने भन्ने प्रश्न तेर्सिएको तर वामपन्थी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकाले केही आशा भने पलाएको बताए ।

प्रेम आचार्यले संसद् भवनअगाडि गरेको आत्मदाहको घटना राज्यको लागि सोचनीय मुद्दा भएकोले उनले सामाजिक सञ्जालमा छोडेका लिखतलाई राज्यले नजरअन्दाज गरेर बस्न नमिल्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिनुपर्ने वरिष्ठ नेता खनालले बताए ।

 “गत निर्वाचनमा वामपन्थी शक्तिको पक्षमा आमजनता उर्लिएको प्रस्ट छ । वामपन्थी शक्तिहरू एकताबद्ध भई सरकार सञ्चालन गर्न सकिने सङ्ख्या छ । तर पनि किन ? वामपन्थी शक्तिहरू एकताबद्ध हँुदैनन्,” उनले भने । जनआन्दोलनबाट प्राप्त भएका तमाम उपलब्धिलाई संस्थागतरूपमा स्थापित गर्नुको अर्को विकल्प प्रजातन्त्रवादी, लोकतन्त्रवादी र गणतन्त्रवादी नेता र दलहरूसँग नभएको भन्दै उनले दक्षिणपन्थी अवसरवादी चिन्तन, प्रवृत्तिहरू प्रकट हँुदै गएकाले मुलुकको समग्र विकास जनताको पक्षमा जान नसकेकोप्रति चिन्ता व्यक्त गरे । मुलुकलाई हाँक्ने मुख्य दलका नेताहरू आमजनताको जीविका, मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता, स्वाधीनताका सवालमा सदैव चनाखो हुनुपर्ने बताउँदै रोजगार, कृषि, शिक्षा, स्वास्थ्यलगायतका तमाम विषयमा चिन्ततमनन गर्दै सुधार गर्नुपर्ने अन्यथा अर्को राजनीतिक शक्तिको उदय हुनेमा कुनै दुई मत नभएको उनले भने ।

राष्ट्रिय सहमतिको सरकार र राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनले प्रस्ट्याए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेता खनालले दुई तिहाइको बहुमत प्राप्त गरे पनि वामपन्थी शक्तिलाई भङ्ग गर्नु नै मुलुकको लागि दुर्भाग्यपूर्ण भएको भन्दै आगामी दिनमा सबै वामपन्थी शक्तिका नेताहरू गम्भीर हुँदै एकअर्कामा विश्वासका साथ अघि बढ्नुपर्ने बताए । केपी ओलीको दम्भ र घमण्ड सत्ताबाट बहिर्गमन भएपनि उस्तै रहेकोले यस कार्यमा बाधक रहेकोतर्फ उनले इङ्गित गरे ।

पत्रकार सम्मेलनमा तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको विषयमा ओलीले पूर्ण पाठ कण्ठ गर्नको लागि हो र प्रसङ्गमा उनले सर्वोच्च अदालतका फैसलाहरू उसैले  नकाटेसम्म सो फैसला ऐन सरह हुने र ठूलो दलको नेता हुँ भन्ने दम्भ नराख्न पूर्वप्रम खनालले सचेत गरे ।

पत्रकार सम्मेलनमा केन्द्रीय सचिव नागेन्द्र चौधरी, केन्द्रीय सदस्य एवं बारा क्षेत्र नं ४ का सांसद कृष्णकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दिनेश राई, नेताहरू रामचन्द्र साह, बालगोपाल थापा, श्रीप्रसाद पासवान, सरिता राईलगायत सहभागी थिए । वरिष्ठ नेता खनालका साथमा उनकी पत्नी रविलक्ष्मी चित्रकार, पार्टीको विदेश विभाग सचिव शङ्कर खतिवडा पनि सहभागी थिए । उनी आजै वीरगंज–रक्सौल हुँदै भारतको पटना प्रस्थान गरेका छन् ।

नेकपा (एस)का बारा अध्यक्ष विजेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वीरेन्द्रप्रसाद साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here