प्रस, वीरगंज, २८ माघ/

प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेश विजयी भएको छ ।

नारायणी रङ्गशालामा आयोजित क्रिकेट प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलमा गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घलाई ९ विकेटले पराजित गर्दै मधेस प्रदेश विजयी भएको छ ।

प्रतियोगिताको म्यान अफ दी म्याच मधेस प्रदेशकी उजेली चौधरी र म्यान अफ द सिरिज मधेस प्रदेशका नवीन तामाङ घोषित भएका छन । फाइनल प्रतियोगितामा ७८ रनको लक्ष्य रहेकामा मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घले ९.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गरेर उपाधि जितेको हो । टस हारेर पहिले व्याटिङ गरेको गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले १८.३ ओभरमा सबै विकेट गुमाएर ७७ रन बनाएको थियो ।

उपाधि जितेको मधेस प्रदेशले नगद रू ३० हजार, मेडल र ट्रफी पाएको छ भने उपविजेता गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको आयोजक कमिटिले जनाएको छ । प्रतियोगितामा चारवटै प्रदेशका १६ महिलासहित ६० जना दृष्टिविहीन खेलाडीहरू सहभागी थिए ।

नेपाल नेत्रहीन क्रिकेट सङ्घ र मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घको संयुक्त आयोजनामा माघ २५ गते बुधवारदेखि प्रतियोगिता शुरू भएको थियो । प्रतियोगितामा सात वटै प्रदेशलाई आमन्त्रण गरिए पनि प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश गरी चार प्रदेश सहभागी भएको  प्रतियोगिता संयोजक महेश साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here