प्रस, वीरगंज, २५ माघ/

वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उद्योगी, व्यापारी र घरधनीहरूले इमानदारीपूर्वक घरबहाल कर मात्र महानगरलाई बुझाएको खण्डमा अन्य सबै करहरू खारेज गर्ने बताएका छन् ।

प्रतीक दैनिकसँग बुधवार कुराकानी गर्दै उनले महानगरपालिकाले अन्य करहरू खारेज गर्ने तर घरबहाल कर मात्र इमानदारीपूर्वक बुझाउनुपर्ने शर्त तेस्र्याएका हुन् । नगरप्रमुख सिंहले घरको बहाल बढी लिने तर घरबहाल कर भने थोरै मात्र तिर्ने गरेको बताए । वीरगंजमा पछिल्लो समयमा फ्ल्याटमा बस्नेहरूले बढी भाडा तिरिरहेको र त्यसैगरी घरधनीहरूले पसलको भाडा बढी लिने, घरबहाल कर थोरै रकमको तिर्ने गरेको गुनासो गरे । उनले महानगरको आन्तरिक स्रोत वृद्धिका लागि गृहकार्य गरिरहेको बताए ।

मनपाले अहिले वार्षिकरूपमा सय करोड आन्तरिक स्रोतबाट कर सङ्कलन गरिरहेको र आउँदो वर्ष यसलाई बढाएर डेढ सय करोड पुर्याउने बताए । चालू आवको छ महीनामा गत वर्षभन्दा कर बढी सङ्कलन भएको उनले बताएका छन् । मनपालाई करदातामैत्री बनाउनको लागि आफू नेतृत्वमा आएपछि धेरै कुरा गरेको उनले दाबी गरे । पहिलेको तुलना अहिले कर तिर्न सहज पारिएको कारण पनि करदाताहरूको सङ्ख्या बढेको बताए ।

कर तिर्नेहरूलाई कुनै पनि प्रकारको झन्झट, झमेलाको सामना गर्नु नपरोस् भनेर सो अनुरूप वातावरण बनाइदिएको नगरप्रमुख सिंहले बताए । उनले मनपामा नक्शा पास गरेर घर बनाउने वातावरण बनाउन लागेको र त्यसका लागि पनि गृहकार्य भइरहेको बताए । नक्शा पास गर्दा अहिले कुनै पनि किसिमको झन्झट झमेला नरहेको र उल्टो मनपाले नक्शा पास गराउनेहरूलाई सहुलियत दिएको बताए । मनपामा जोडिएको नयाँ वडाहरूमा घर बनाउँदा नपाले नक्शा डिजाइन गरिदिने, प्राविधिक सहयोगलगायत सुविधा उपलब्ध गराउँदा पनि नक्शा पास गराउनेहरूको सहभागिता सन्तोषजनक नभएको उनको भनाइ छ ।

नगरप्रमुख सिंहले महानगरले अहिले नयाँ वर्षलाई लक्षित गरेर १२ वटा योजनामा सार्वजनिक–निजी साझेदारी कार्यक्रम अन्तर्गत काम भइरहेको र यो वीरगंज महानगरपालिकाको देखिने योजना भएको बताए । उनले आफूले गर्ने कामबारे पूर्वघोषणा गर्दा थुप्रै ठाउँबाट अवरोध सिर्जना भइरहेको भन्दै काम गरेर देखाउनेगरी कार्य गरिरहेको बताए । अबका दिनमा योजनाहरू सार्वजनिक गर्नुभन्दा पूरा गरेर देखाउने लक्ष्यका साथ अगाडि बढिरहेको उनले प्रस्ट्याए । महानगरपालिकाले गर्ने धेरै कार्यहरू भए पनि प्राथमिकताका आधारमा काम गरिरहेको उनको भनाइ छ ।

वीरगंज महानगरपालिकामा आफू नेतृत्वमा आएदेखि सरसफाइमा सुधार भए पनि चित्तबुझ्दो नभएको उनले बताए । सुधार भएको छ तर यो सुधारबाट म सन्तुष्ट छैन, उनले भने । यसमा पूर्ण सफलताको लागि थप कार्य भइरहेको उनले बताए । मनपाले यस अघि २२ वर्षका लागि फोहर व्यवस्थापन केन्द्रको निर्माण गरे पनि अहिले नै सो फोहर व्यवस्थापन केन्द्र भरिसकेको त्यस्तो हुनुमा केन्द्रको मर्म अनुरूप काम गर्न सकिएको बताए । उनले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै सङ्कलन गर्नुपर्नेमा त्यस्तो कार्य नभएको र फोहर व्यवस्थापन केन्द्रमा लगिने फोहर एकै ठाउँमा फाल्दा फोहर व्यवस्थापन केन्द्र तीन चार वर्षको अवधिमा भरिएको बताए । त्यसमा सुधार गर्नुपर्ने अवस्था आएको बताए ।

नगरप्रमुख सिंहले अबका दिनमा मनपाले बनाउने कालोपत्र गुणस्तरीय हुने दाबी गरे । उनले एक्सपर्ट्स मेशिनबाट कालोपत्र गरिने बताए । यस अघिको प्रविधिबाट बनेको सडक टिकाउ नभएको र जनताले आलोचना गर्दै आएको कारण अबका दिनमा बन्ने सडकहरू गुणस्तरीय हुने उनले बताए । सडकका साथै नालाहरू पनि गुणस्तरीय बन्ने र बनेका नालाहरूमा कभर राख्ने व्यवस्था गर्ने उनले बताए ।

आफ्नो कार्यकालमा बिकाउभन्दा टिकाउ काम हुने उनले बताए । अहिले विवादमा रहेको महात्मा गाँधी रोडसम्बन्धमा उनले सरोकारवालाहरूसँग छलफल गरेर सडकको नामाकरण गरिएको बताए । नगरप्रमुख सिंहले महात्मा गाँधी मार्गको लागि पिपरावासी ९५ जना पक्षमा भएको र तर केही व्यक्तिको उक्साहटमा यसविरुद्ध अभियान चलाइएको आरोप लगाए । महात्मा गाँधीको नाममा ८४ देशमा सडक नामाकरण र शालिक रहेको भन्दै उनले शान्तिका प्रवर्तक गाँधीको नाममा सडक नामाकरण हुँदा विवाद गर्न नहुने तर्क गरे । उनले यस विषयमा उठेका सबैखाले आरोप मिथ्या भएको बताए ।

भारत सरकारको सहयोगमा विपी उद्यानमा आधुनिक नगरसभागृह निर्माण र ज्येष्ठ नागरिक पार्क आधुनिकीकरण गर्ने योजना रहेको भन्दै उनले भारत सरकारको सहयोगमा बन्नमा ढिला भएको खण्डमा महानगरले आफैले सो कार्य गर्ने प्रतिबद्धता जाहेर गरे । भारतीय दूतावासले यो निर्माणमा चासो देखाएको भन्दै उनले योजना स्वीकृत हुन ढिला भए आफ्नै स्रोतबाट पूरा गर्ने तर योजना विफल हुन नदिने बताए ।

नगरप्रमुख सिंहले वीरगंज मनपाभित्र रहेका सबै सडकको नामाकरण गर्नेगरी काम भइरहेको र सोही अनुरूप महात्मा गाँधी मार्ग नामाकरण गरिएको बताए । वीरगंजको लागि योगदान दिने उद्योगी व्यापारी, पत्रकार, कानून व्यवसायी, साहित्यकार, राजनीतिकर्मीलगायत व्यक्तिको नाममा सडकको नामाकरण गरिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here