प्रस, वीरगंज, १३ माघ/
जिल्ला प्रशासन कार्यालय, बाराबाट नागरिकताको प्रतिलिपि लिन पाँच दिन लागेको एकजना सेवाग्राहीले बताइन् । माघ ९ गतेदेखि प्रतिलिपिको लागि जिल्ला प्रशासन कार्यालयमा धाएको र माघ १३ गते शुक्रवारका दिन मात्र प्रतिलिपि पाएको कलैया उपमहानगरपालिका–१ राजदेवी घर भई हाल काठमाडौं, पेप्सीकोला बस्दै आएकी बिन्दुदेवी पाठकले बताइन् ।
राष्ट्रिय परिचयपत्रको लागि जिल्ला प्रशासन कार्यालय, बाराबाट जारी नागरिकता लिएर जाँदा नागरिकतामा बुबाको नाम नरहेको भनेर शुरूमा माइती रहेको वीरगंज महानगर–३ वडा कार्यालयबाट सिफारिश ल्याउन भनियो र काम हुने बताइएको उनले बताइन् । सोहीअनुरूप सिफारिश लिएर गएपछि नागरिकतामा त्रुटि देखाएर कलैया उपमनपा–१ वडा कार्यालयबाट सिफारिश ल्याउन भनियो । जिल्ला प्रशासन कार्यालय, बाराबाट जारी नागरिकतामा जन्ममिति २०२२ र नागरिकता जारी मिति २००२ लेखिएको थियो । सो सच्याउनको लागि पुनः पाँच दिन लागेको उनले बताइन् ।
जिल्ला प्रशासन कार्यालयले गरेको गलती सोही कार्यालयले नसच्याउँदा वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा माघ ९ गतेदेखि धाउँदै आएको पाँचौं दिन नागरिकता र राष्ट्रिय परिचयपत्रको काम भएको उनले बताइन् । पाठक कलैया उपमनपाका पूर्वनगरप्रमुख स्व जुगलकिशोर पाठककी पत्नी हुन् । पूर्वनगरप्रमुख पत्नीलाई जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्रको लागि पाँच दिन दौडाइयो भने अन्य सेवाग्राहीलाई कति दुःख दिइन्छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।