प्रस, सेढवा, १२ माघ/
पर्साको अति दुर्गम बस्ती शिकारीबासमा निश्शुल्क वाइफाई जडान भएपछि स्मार्टफोन प्रयोगकर्ता बढेका छन् ।
नेपाल टेलिकम तथा एनसेलको नेटवर्क नटिप्ने सो गाउँमा केही दिन पहिले ठोरी गाउँपालिकाले निश्शुल्क वाइफाई जडान गरेको थियो ।
वाइफाई जडान भएपछि सो गाउँमा करीब ५० जना मोबाइल प्रयोगकर्ता पुगेको स्थानीय शिवजलम चौधरीले बताए । मोबाइल प्रयोगकर्ताहरूले फेसबूक, मैसेन्जर, ह्वाट्सएप, भाइबर, इमेल, युट्युबलगायतका सामाजिक सञ्जाल चलाउन पाएको चौधरीले बताए । इन्टरनेटको माध्यमबाट स्थानीयहरू देश तथा विदेशमा रहेका आफन्त, मित्रसँग भिडियो कल गर्न पाएकामा खुशी भएका छन् ।
वर्षाैंदेखि सूचना तथा सञ्चारबाट वञ्चित भएका यहाँका स्थानीयहरू वाइफाई जडानपछि निकै खुशी भएको शालिराम दिस्वा थारूले बताए । अब उनीहरूले देशविदेशका घटना तथा समाचार र राज्यका हरेक क्षेत्रका गतिविधिहरू देशका अन्य स्थानका नागरिक सरह थाहा पाउन थालेका छन् । इन्टरनेटको माध्यमबाट गीत–सङ्गीत तथा अन्य मनोरञ्जनका कार्यक्रम पनि हेर्न पाएको थारूको भनाइ छ ।
पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको दोसाँधमा रहेको यो गाउँ हुलाकी राजमार्गभन्दा पाँच किलोमिटरभित्र जङ्गलमा पर्छ । विद्युत्समेत नरहेको यस गाउँमा ठोरी गाउँपालिकाले ब्याट्रीबाट सञ्चालन हुनेगरी तीनवटा राउटर जडान गरेको छ । वाइफाईबाट एक किलोमिटरसम्मको क्षेत्रफलमा इन्टरनेट चलाउन मिल्ने स्थानीयले बताएका छन् ।