प्रस, वीरगंज, ६ माघ/
सात महीनादेखि जग्गाको वर्गीकरण नगर्दा रोकिएको पर्सा जिल्लाको कित्ताकाट माघ ९ गते सोमवारदेखि खुला गरिएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका नायब सुब्बा राजेश्वर साहले शुक्रवार कित्ताकाट खुला गरिएको सूचना प्रकाशन भएको बताए । उनले पर्सा जिल्लाका १४ वटा पालिकामध्ये सोमवारदेखि चारवटा पालिकाको मात्र कित्ताकाट खुला गरिएको र बाँकी दशवटा पालिकालाई जग्गा वर्गीकरण गर्न सूचित गरिएको बताए ।
भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा वीरगंज महानगरपालिका, पकाहामैनपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँँपालिका गरी चारवटा पालिकाले जग्गाको वर्गीकरण गरेर पठाएको हुँदा पहिलो चरणमा यी चारवटा पालिकाको कित्ताकाट खोलिएको नासु साहले बताए ।
सरकारले देशभरिका पालिकाहरूलाई कृषि, गैरकृषि जग्गाको वर्गीकरण गरेर सिफारिश गर्नको लागि मङ्सिर २३ गतेको समयसीमा तोकेको थियो । जेठ २७ गतेदेखि जग्गाको वर्गीकरण नगरेका पालिकाहरूको कित्ताकाट रोकिएको थियो ।
कित्ताकाट रोकिएको र ससीम जग्गाको मात्र खरीद–बिक्री हुँदा मालपोतको रजिस्टे«शन स्वात्तै घटेको थियो । कित्ताकाट नहुँदा थुप्रै मानिस समस्यामा परेका छन् ।