- डा शिवशङ्कर यादव
ब्रेनको मोटामोटी विभाजन र नाम पूर्वको लेखमा सकिएको छ । ब्रेन नर्भसेल र त्यसको कनेक्सनको जमावडा हो, जसमा विभिन्न संवेदनाहरूका बिन्दु वा क्षेत्र छुट्याएर बाँडिएका छन् । अतः सबैभन्दा पहिले नर्भ र त्यसको कनेक्सन भनेको के कस्तो हो भने थाहा भएपछि सबै थाहा हुँदै जानेछ । ब्रेनमा अरू कोष सरह रगतको सप्लाई र ड्रेनेजको व्यवस्था छ तर लिम्फैटिक सिस्टमको व्यवस्था छैन । त्यो काम भेनले नै गरेको हुन्छ ।
जसरी अर्को ठाउँमा सेल भनिन्छ, नर्भको सम्बन्धमा त्यही सेललाई न्युरोन भनिन्छ । न्युरोन धेरै विशेष सेल हो, जसमा अरू सेलभन्दा तीनवटा कुरा भिन्न हुन्छन् । पहिलो यो कि यसको आकार इरेगुलर हुन्छ । दोस्रो यो कि यसबाट केही शाखाहरू बाहिर निस्कन्छन्, जसलाई एक्सन र डेन्ड्राइट भनिन्छ । तेस्रो यो कि यसमा सेन्ट्रोसोम हुँदैन त्यसैले न्युरोनको विभाजन हुँदैन । न्युरोनलाई हेर्नुहुन्छ भने त्यो कुनै फूल फुलेको जस्तो देखिन्छ ।
बनावटः न्युरोनका तीन भाग हुन्छन् । सेलबडी जसलाई सोमा पनि भनिन्छ । एक्सन र डेन्ड्राइट । यी दुवैलाई नर्भफाइबर पनि भनिन्छ । सेलबडी अरू सेल जस्तो स्मुथ नभएर इरेगुलर हुन्छ । साइटोप्लाज्मलाई न्युरोप्लाज्म भनिन्छ र यसमा निस्सलबडी, न्युरोफिब्रिल, माइटोकोन्ड्रिया र गोल्जी एपेरेट्स सबै हुन्छन् । न्युक्लियस ठूलो हुन्छ, त्यसमा दुईवटा न्युक्लियोलाई पनि हुन्छ तर सेन्ट्रोसोम हुँदैन । निस्सल नामक वैज्ञानिकले पत्ता लगाएपछि सेलभित्र पाउने अनेक ग्रेन्युल्सलाई निस्सलबडी भनिन्छ, जसले प्रोटिनको सिन्थेसिस गर्छ । यसले सम्पूर्ण सोमामा दानेदार दृश्य प्रस्तुत गर्छ र डेन्ड्राइटमा पनि जान्छ तर एक्सनमा जाँदैन, जसले गर्दा एक्सन र डेन्ड्राइट छुट्याउन सजिलो हुन्छ । तर ग्रेन्युल्सले बनाएको प्रोटिन भने एक्सनमा पनि जान्छ । सोमाबाट एउटा मात्र एक्सन निस्किन्छ र सेलभित्रको जुन ठाउँबाट निस्किन्छ, त्यस ठाउँलाई एक्सन हिलाक भनिन्छ । नर्भ जब फैटिग हुन्छ अर्थात् थाक्छ वा चोटिल हुन्छ, तब निस्सलबडी हराएर जान्छ । जब आराम गरेपछि फैटिग खत्म हुन्छ वा चोटिल नर्भ निको हुन्छ, तब यी ग्रेन्युल्स फेरि देखिन थाल्छन् । सोमामा न्युरोफिब्रिल पनि एउटा विशेष संरचना हो, जो अन्यत्र पाइँदैन । सोमामा धागो जस्तो संरचनाको पूरा सञ्जाल नै हुन्छ । जस्तै सबै सेलमा हुन्छ, यहाँ पनि माइटोकोन्ड्रिया सेलको ऊर्जाको पावरहाउस नै हो । यो सोमा र एक्सनमा पाइन्छ । अन्य सेल सरह यहाँ पनि गोल्जिएपेरेट्सले प्रोटिनको प्रोसेसिङ र प्याकेजिङ गर्छ ।
एक्सनः सोमाको हिलाकबाट निस्कने एउटा मात्र शाखालाई एक्सन भनिन्छ । एक्सन निस्किने हिलाकमा निस्सलबडी हुँदैन तथा एक्सन सोमाबाट एउटा पुच्छर जस्तो केही टाढासम्म जान्छ । यसको अधिकतम लम्बाइ एक मिटर हुन्छ । यसको बनावट र सजावट जान्नु आवश्यक छ । यो कुनै पनि नर्भमा बन्डलमा सजाइएको हुन्छ, जसलाई फैसिकुलस भनिन्छ । एउटा न्युरोनमा अनेक फेसिकुलस हुन्छन् । यी फेसिकुलसहरू न्युरोफिब्रिलहरूको बन्डल हो । एउटा फेसिकुलसको बाहिर जुन मेम्ब्रेन हुन्छ, त्यसलाई इन्डोन्युरियम भनिन्छ । त्यसरी नै अनेक फिब्रिललाई एउटा अर्को परतले घेर्छ, जसलाई पेरिन्युरियम भनिन्छ । अन्तमा पूरै नर्भ पनि एउटा परतले घेरिएको हुन्छ, जसलाई इपिन्युरियम भनिन्छ । एक्सनको साइटोप्लाज्मलाई एक्सोप्लाज्म भनिन्छ, जो एउटा परत अथवा सीथले घेरिएको हुन्छ, जसलाई एक्सोलिमा भनिन्छ, जसमाथि पुनः एउटा सीथ हुन्छ, जसलाई न्युरिलिमा भनिन्छ । अब भने यसमा माइलिन सीथ थपिन्छ र त्यसलाई माइलिनेटेड नर्भ भनिन्छ नत्रभने अनमाइलिनेटेड हुन्छ । माइलिनेसन पनि एकनास नभएर ठाउँठाउँमा गैप छोड्दै जान्छ । यस गैपलाई नोड अफ रैनभियर भनिन्छ । प्रत्येक माइलिन सीथको बीचमा एउटा चेप्टो न्युक्लियस पाइन्छ, जसलाई स्वानसेलको न्युक्लियस भनिन्छ । एक्सोलिमा र एक्सोप्लाज्म दुवैलाई एकसाथ एक्सिस सिलिन्डर भनिन्छ । माइलिनेसन भ्रूणावस्थाको चार महीनादेखि शुरू भएर बच्चा जन्मिसकेको दुई वर्षमा पूरा हुन्छ । माइलिनेसनले नर्भमा संवेदना सञ्चरणको रफ्तार बढ्छ । नर्भमा संवेदना एक नोडबाट जम्प गरेर अर्को नोडमा जान्छ, जसलाई साल्टेट्री कन्डक्सन भनिन्छ ।
डेन्ड्राइटः सोमामा या त यो अनुपस्थित हुन्छ वा अनेक शाखाको रूपमा उपस्थित हुन्छ । यसले संवेदनालाई सोमातिर ट्रान्सफर गर्छ । अक्सर यो एक्सनभन्दा सानो हुन्छ तर यसको विपरीत पनि हुन्छ ।
वर्गीकरणः न्युरोनको वर्गीकरण तीन भिन्न तरीकाले गरिन्छ । १. न्युरोनमा भएको पोलको अनुसार जहाँबाट शाखा निस्किन्छ, यसको अनुसार न्युरोन तीन प्रकारका हुन्छन् । युनिपोलर, बाइपोलर र मल्टिपोलर । न्युरोनबाट निस्किने शाखाहरूलाई एक्सन र डेन्ड्राइट्स भनिन्छ । जब न्युरोनको एउटै पोलबाट एक्सन र डेन्ड्राइट दुवै निस्कन्छन्, तब त्यो युनिपोलर हो, जो केवल भ्रूणावस्थामा मात्र पाइन्छ । जब दुई पोलबाट निस्कन्छन्, तब बाइपोलर हुन्छ । यसमा एक्सन एक बिन्दुबाट र डेन्ड्राइट अर्को बिन्दुबाट निस्किन्छ र जब न्युरोनका दुई भन्दा पनि बढी बिन्दु वा पोलबाट निस्किन्छन्, तब त्यसलाई मल्टिपोलर न्युरोन भनिन्छ । यसमा एक पोलबाट एक्सन र अन्य सबै पोलबाट डेन्ड्राइट निस्किन्छ । २. नर्भले गर्ने कामको आधारमा विभाजन । यो दुई प्रकारको हुन्छ । मोटर र सेन्सरी । मोटरलाई इफरेन्ट अथवा आउने नर्भ पनि भनिन्छ किनभने यी नर्भ ब्रेनबाट आदेश लिएर अन्य अङ्गहरूमा जान्छन् । यसमा एक्सन ठूलो र डेन्ड्राइट सानो हुन्छ, जसरी कुनै लामो डन्डाको छेउमा घर झाड्ने ससानो प्रोसेस बनाइएको हुन्छ । सेन्सरीलाई एफरेन्ट अथवा लग्ने नर्भ पनि भनिन्छ । यी अङ्गहरूबाट उत्पन्न संवेदनालाई ब्रेनमा लग्ने गर्छ । यसमा एक्सन सानो र डेन्ड्राइट लामो हुन्छ, जसरी फूलझाडुमा फूलहरू डन्ठलभन्दा लामा हुन्छन् । ३. तेस्रो विभाजन एक्सनको लम्बाइको आधारमा गरिन्छ । यो पनि दुई थरीको हुन्छ । गोल्जी टाइप १ र गोल्जी टाइप २ । टाइप १ मा सेलबडी सिएनएसमा हुन्छ र एक्सन अर्गेनसम्म पुग्छ । टाइप २ को एक्सन सानो हुन्छ र यो सिरेब्रल कार्टेक्स र स्पाइनल कर्डमा पाइन्छ ।
न्युरोट्रोफिनः अब लगत्तै यो पनि जान्न आवश्यक छ कि स्नायु कोषको विकास र कार्य कसरी हुन्छ ? नर्भको विकास र कार्यमा सहायक हुने तŒवलाई न्युरोट्रोफिन वा न्युरोट्रोफिक फैक्टर भनिन्छ । याद राख्नुस् न्युरोट्रोफिन र न्युरोट्रान्समिटरमा धेरै फरक हुन्छ । न्युरोट्रान्समिटर त्यसलाई भनिन्छ, जो नर्भद्वारा निस्रित हुन्छ र आफ्नो गुणको अनुसार विभिन्न अङ्गहरूलाई काम गर्न परिचालित गर्छ । त्यस नर्भको नाम पनि यही केमिकलको अनुसार राखिन्छ । जसरी एसिटाइल कोलिन निकाल्नेलाई कोलिनर्जिक, एड्रिनलिन निकाल्नेलाई एड्रिनर्जिक, डोपामिन निकाल्नेलाई डोपामिनर्जिक भनिन्छ । न्युरोट्रोफिन त्यो केमिकल हो, जो स्नायु वा अन्य कोषबाट पनि निस्किन्छ र नर्भसेलको विकासमा सहायक हुनुका साथै त्यसको रक्षा पनि गर्छ । यसको पत्ता सर्वप्रथम आइन्स्टाइन जस्तै फासीवादबाट प्रताडित इटलीको एक यहुदी रीता लेवी मोन्टलसिनीले सन् १९५० मा लगाइन् । उनी अमेरिका गइन् तर फेरि फर्केर रोममा सफल राजनीति पनि गरिन् । उनले न्युयोर्कको डा स्टेन्ली कोहेनसँगै सन् १९६६ मा नोबेल पुरस्कार पनि जितिन् ।
न्युरोट्रोफिनका कार्यः यसले सेन्ट्रल र पेरिफेरल नर्भको प्राथमिक विकास गर्छ । यसले नर्भसेलको सर्भाइभलको काम गर्छ र रिपेयर गर्छ । यसले न्युरोट्रान्समिटरको ट्रान्समिसन र मेन्टेनेन्समा योगदान गर्छ । नर्भसेल एकपटक खत्तम भएपछि फेरि बन्दैन तर नवीन खोजमा यो पत्ता लागेको छ कि न्युरोट्रोफिनले नर्भसेललाई फेरि बन्नमा पनि मदत गर्छ र यसरी यसको उपयोग पार्किन्सस र अल्जाइमर रोगमा हुन सक्ने सम्भावना बढी छ ।
प्रकारः न्युरोट्रोफिनहरू थुप्रै हुन्छन् तर मुख्य दुई भागमा बाँडिन्छन् । पहिलो हो, एनजिएफ अर्थात नर्भग्रोथफैक्टर । यसैको खोज रीता लेवी मोन्टलसिनीले गरेकी थिइन् । यसले पेरिफेरीमा र सिरेब्रल कार्टेक्सको कोलिनर्जिक नर्भको विकासलाई बढाउँछ । अतः यसको उपयोग अल्जाइमर, सेनाइल नर्भडिजेनेरेसन र स्पाइनल कर्डको चोटपटकमा गरिन्छ । कमर्सियली यसलाई साँपको विष र मुसाको सबमैक्जिलरी ग्लैन्डबाट तयार गरिन्छ । अन्य प्रकारमा बिडिजिएफ अर्थात् ब्रेनडेराइभ्ड न्युरोट्रोफिक ग्रोथ फैक्टर । जुन पहिले सुङ्गुरको ब्रेनमा पत्ता लाग्यो, त्यसपछि खोज्दा यो मान्छेको ब्रेन र शुक्रकिटमा पनि पाइयो । यो सेन्सरी र मोटर तथा डोपामिनर्जिक नर्भ र ओप्टिक अर्थात् आँखाको नर्भको विकासलाई तेज बनाउँछ । यसको कमर्सियल प्रिपेरेसन मोटरन्युरोन डिजिजमा प्रयोग गरिन्छ । सिएनटिएफ अथवा सिलियरी न्युरोट्रोफिक फैक्टर । यो पेरिफेरल नर्भ आँखा र मुटुको मांसपेशीमा पाइन्छ । यसले मोटरन्युरोनको रक्षा गर्छ । जिएनडिएफ अर्थात् ग्लायलसेल लाइन डेराइभ्ड न्युरोट्रोफिक फैक्टर । यो न्युरोग्लायलसेलमा पाइन्छ । यो डोपामिनर्जिक न्युरोनको बलियो रक्षक हो । यसको प्रयोग पार्किन्सस रोगमा गरिन्छ । पार्किन्सस रोग बुढेसकालमा हात वा घाँटी काम्ने गरी प्रकट हुन्छ । एफजिएफ अथवा फाइब्रोब्लास्ट ग्रोथ फैक्टर । पहिले यसलाई फाइब्रोब्लास्टिक ग्रोथमा सहायक भएको मानिन्थ्यो । घाउ निको फाइब्रोसिस प्रक्रियाबाट हुन्छ र एउटा निसान बन्छ । त्यही निसान फाइब्रोसिस हो । तर अब यो पनि देखिएको छ कि यसले न्युरोनको पनि रक्षा गर्छ । ३एनटी३ः यो पनि न्युरोट्रोफिक फैक्टरको नै प्रकार हो, जसको प्रयोग डायबिटिक न्युरोपैथीमा गरिन्छ । अस्तु ।