प्रस, वीरगंज, ५ माघ/
प्रदेश सरकार मातहत रहेको शहरी विकास भवन कार्यालय, वीरगंजमा पुनः विवाद शुरू भएको छ ।
कर्मचारीहरूबीच खटपटका कारण पटक–पटक विवाद हुँदै आएको सो कार्यालयमा छ महीनादेखि अर्कै किसिमको विवाद शुरू भएको छ ।
प्रदेश सरकार मातहतमा पर्ने सो कार्यालयमा सङ्घ सरकारले हस्तक्षेप गरेको छ । हस्तक्षेपपछि विवादका कारण कर्मचारीहरूबीच अन्योलता छाएको छ ।
प्रदेश सरकारले आधिकारिकरूपमा मदन रायलाई कार्यालय प्रमुख बनाएर पठाएपछि सङ्घ सरकारले पनि सरोजकुमार गोइतलाई कार्यालय प्रमुख बनाएर पठाउँदा अहिले कार्यालयमा दुईजना प्रमुख छन् ।
आधिकारिकरूपमा मदन राय नै कार्यालयमा बसी सेवाग्राहीहरूको काम हेर्दैछन् भने गोइत काठमाडौं तथा जनकपुरमा बसी राजनीति गरिरहेको एकजना कर्मचारीले बताएका छन् ।
कर्मचारी स्रोतका अनुसार प्रदेश सरकारले गोइतको सरुवा भदौ २६ गते गरी सङ्घमा पठाए पनि उनले कार्यालय प्रमुख बस्ने सरकारी निवास अहिलेसम्म छोडेका छैनन् । आधिकारिक कार्यालय प्रमुख मदन राय भने होटल तथा अन्य साथीहरूका घरमा बस्दै आएको बताउँछन् ।
मधेस प्रदेशको मुख्यमन्त्री भएकै दिन सरोज यादवले प्रदेशमा सङ्घको दादागिरी रोक्ने बताएका छन् ।