काठमाडौं, ५ माघ/रासस

प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा १६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा  एक सय मत खसेको थियो । मतदानमा  २६८ सांसदले भाग लिएका थिए । एकजना सांसदले मत दिएनन् ।

मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मतविभाजनको नतीजाबारे जानकारी दिंदै सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गरेकाले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरे । 

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने थिए । न्यौपानेको प्रस्तावकमा काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला थिए ।

एमालेका घिमिरेलाई सत्ता साझेदार एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन थियो ।

विसं २०१३ मा ताप्लेजुङमा जन्मेका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । उनले विद्यार्थी सङ्गठनबाट राजनीति शुरू गरेका थिए । उनी विसं २०४९ मा एमालेका केन्द्रीय सदस्य थिए । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए । हाल उनी एमालेको स्थायी समिति सदस्य र प्रदेश नं १ का इन्चार्ज हुन् ।

सङघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत पुस २५ गते बसेको थियो ।

नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रूपमा प्रतिनिधिसभा रहिआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here