प्रस, वीरगंज, २ माघ/
पर्साका अधिकांश पालिका भद्रगोल अवस्थामा सञ्चालन भइरहेका छन् । अदक्ष कर्मचारी तथा योजनाविहीन जनप्रतिनिधिहरूका कारण गापा कार्यालयहरूमा भद्रगोल अवस्था सिर्जना भएको छ ।
सङ्घीयतापछि तत्कालीन गाविसहरू गाभेर नगरपालिका र गाउँपालिका निर्माण भएको पनि पाँच वर्ष बितिसकेको छ । तर अधिकांश पालिकाले भौतिक तथा सामाजिक विकास गर्न कुनै ठोस योजना अहिलेसम्म बनाएका छैनन् ।
जनप्रतिनिधिहरूले जथाभावी सडक, नाला, भवन निर्माण तथा सवारीसाधन खरीद गर्नुबाहेक केही उपलब्धि हासिल गर्न सकेका छैनन् । प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत कर्मचारीहरूमा अनुभवको कमी र जनप्रतिनिधिहरू अदक्ष भएका कारण पालिकाहरूमा भद्रगोल अवस्था सिर्जना भएको हो ।
पालिका गठन भएको छ वर्ष बित्न लागेको छ । गाउँमा विकासको नाममा अधूरा नाला, सडक, ढलान निर्माण, कार्यालयको रङरोगन, महँगो सवारीसाधन खरीद, अनुपयुक्त स्थानमा सिसिटिभी जडान जस्ता कार्यहरू मात्र भएका छन् ।
नाला पनि सही तरीकाले निर्माण नहुँदा कुनै पनि बेला भत्काउनुपर्ने अवस्था आउन सक्ने एकजना स्थानीयले बताए ।
जनताको सामाजिक, शैक्षिक विकास कसरी गर्ने, स्वास्थ्यमा पहुँच कसरी बढाउनेतर्फ पालिकाहरूले चासो देखाएका छैनन् । एक आर्थिक वर्षमा अनेकौंपटक कर्मचारी फेरिने, जनप्रतिनिधिहरूले पनि लापरवाही देखाउने गरेका कारण अधिकांश पालिकाको अवस्था बिजोग छ ।
कर्मचारीहरू कार्यालयमा नजाने, सदरमुकाममा घरभाडा लिएर यहींबाट कार्यालय सञ्चालन गर्दा सेवाग्राही मर्कामा परेका छन् ।
पालिकाहरूले बजेट ल्याउँदा जनभावनाविपरीत ल्याउने, बजेटमा पारदर्शिता नहुनेजस्ता गलत प्रवृत्ति पर्साका पालिकाहरूमा मौलाउँदै गएको छ ।