प्रस, पंचगावाँ, २ माघ/
हिजो काठमाडौंबाट पोखरा गइरहेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिका लागि नेपाल विद्यार्थी सङ्घ, पर्साले सोमवार शोकसभा तथा मैनबत्ती रैली निकालेको छ । मैनबत्ती रैली वीरगंजको घण्टाघरबाट शुरू भई माईस्थान, आदर्शनगर हुँदै ठाकुर राम बहुमुखी क्याम्पसमा शोकसभा गरी समापन गरियो ।
कार्यक्रममा वक्ताहरू विमान दुर्घटनाका मृतक आत्माको चिरशान्तिको कामना गर्दै सम्बन्धित निकायले नेपाली आकाशलाई सुरक्षित गरी जनताको जीउधनको सुनिश्चितता गर्न प्रतिबद्ध हुनुपर्ने भनाइ राखेका थिए । नेविसङ्घ, पर्साका अध्यक्ष रमेश यादवको सभापतित्वमा भएको कार्यक्रममा मोहम्मद साहबुद्दीन, राकेश यादव, महानगर अध्यक्ष धीरज गुप्ता, सबिर हुसेन, फिरोज अन्सारीलगायत विद्यार्थी नेताहरूको सहभागिता थियो ।
प्रस, पोखरिया/
पोखरिया नगरपालिका वडा नं ४ बजारमा सोमवार साँझ पोखरा विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्न दीप प्रज्वलित गरिएको छ ।
पोखरिया नगरपालिकाका नेविसङ्घमा आबद्ध विद्यार्थीहरूको सक्रियतामा मृतात्माको सम्मानमा एक मिनेट मौन धारण पनि गरिएको थियो ।
कार्यक्रममा पोखरिया नगरपालिका का पूर्वप्रमुख दीपनारायण रौनियार, नेविसङ्घ, पोखरियाका अध्यक्ष ओमप्रकाश ठाकुर, तरुण दलका सचिव सुरेन्द्र सिंह, सन्तोष महतो, कयुम आलमलगायत विद्यार्थी नेताहरूको सहभागिता थियो ।
बलिराम शुक्ला, बिरुवागुठी/
पर्सागढी नगरपालिका वडा नं ३ बडनिहार बजारमा आज बेलुकी पोखरा विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि तथा दीप प्रज्वलन गरिएको छ ।
विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्न पर्सागढीका युवाहरूको सक्रियतामा एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा पर्सागढी नपाका प्रमुख गोकर्ण पाठक, पूर्वनगरप्रमुख लोकनारायण यादव, वडाध्यक्ष सुकमान तामाङ, थारू नेता जङ्गबहादुर चौधरी, सोनु गुरुङ, विक्रम कार्कीलगायत स्थानीयहरूको सहभागिता थियो ।