जनकपुरधाम, २ माघ/रासस

मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मङ्गलवारका लागि तय गरिएको छ ।

आइतवार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण सङ्घीय सरकारले राष्ट्रिय शोक बिदा दिएकोले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

यसअघि आज दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । प्रदेशसभा सचिवालय सचिव यादवले प्रदेशसभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयपछि भोलि मङ्गलवार दिउँसो १ बजेका लागि बैठक सारिएको बताए ।

मुख्यमन्त्री सरोजकुमार यादवले पनि विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र परिवारजनमा गहिरो दुःख व्यक्त गर्दै देश शोकमा डुबेको र राष्ट्रिय शोक बिदा दिइएकोले आफूले भोलिको बैठकमा विश्वासको मत लिने जानकारी दिए । 

गत बुधवार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रवार पद तथा गोपनीयताको शपथ लिएका थिए भने सभामुखमा सत्ता गठबन्धनतर्फबाट नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली काङ्ग्रेसतर्फबाट जङ्गीलाल रायको उम्मेदवारी दर्ता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here